गंगटेको मृत्यु बारे ईन्सेकद्धारा अनुगमन




प्रहरी हिरासत भित्र मृत्यू प्रकरण

दाङ २८ भदौ । घोराही उपमनपा–१४ का ३९ वर्षीय गंगटे भनिने देवबहादुर विकको प्रहरी हिरासतमै मृत्यु सम्वन्धि घटनाको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को एक टोलीले भदौ २८ गते प्रहरी हिरासत तथा सम्वन्धित प्रहरी निकाय एवं थुनुवासंग भेटघाट गरी जानकारी लिएको छ ।इन्सेक क्षेत्रीय कार्यालय नेपालगञ्जका प्रमुख भोला महतको नेतृत्वमा आएको पाँच जना अधिकारकर्मीहरुको टोलीले घटनाको विषयमा अनुगमन गरेको छ । संघीय प्रहरी इकाई कार्यालय तुलसीपुरका एआइजी मिङमार लामा, घटना छानवीन समितिका संयोजक तथा एसएसपी दिलिप कुमार चौधरी, दाङकी प्रहरी प्रमुख एसपी दुर्गा सिंह चन्द, वडा प्रहरी कार्यालय लमहीका इन्स्पेक्टर सुरज खड्का, तथा हिरासतका गार्ड तथा मृत्यु भएका विकसंगै रहेका अन्य थुनुवाहरु संग भेटगरी घटनाका विषयमा जानकारी लिएको हो ।

 

अधिकारकर्मीहरुको टोलीसंग एआइजी लामाले थुनुवाको मृत्यु भएपनि प्रहरीको कुटपीटबाट नभई पहिलेकै विरामीका कारण भएको पुष्टि भएको बताउनुभयो । गंगटेलाई चोरीको आरोपमा भदौ १३ गते गिरफ्तार गरिएको र १४ गते विहान एक्कासी वेहोस भइ ढलेपछि राप्ती उपक्षेत्रीय अस्पतालमा लैजादा चिकित्सकहरुले मृत घोषणा गरेको लामाको भनाई छ । पोष्टमार्टम रिपोर्टले फोक्सोमा घाउ भएको र त्यही कारणले मृत्यु भएको देखाएको छ, हिरासतमै थुनुवाको मृत्यु भन्ने कुराले अप्ठेरोमा पर्ने डरले प्रहरीले गलत सूचना प्रवाह गर्दा समस्या भएको हो एआइजी लामाले वताउनुभयो । उहाँले भन्नुभयो ,– सूचना लुकाउने एसपी दुर्गा सिंह चन्द, इन्स्पेक्टर सुरज खड्का र हिरासतमा खटिएका एकजना हवल्दारलाई विभागिय कारवाहीकालागि सिफारिस गरेका छौ ।

 

प्रहरीले चोरीको आरोपमा भदौ १३ गते घोराहीबाट गिरफ्तार गरी वडा प्रहरी कार्यालय लमहीको हिरासतमा राखेको थियो । भदौ १४ गते विहान मृत घोषणा भएका गंगटेलाई जिल्ला प्रहरी कार्यालयले आफनो फेसवुकमा घोराही लमही सडक खण्डको चौपट्टा भन्ने स्थानमा मृत भेटिएको भन्दै पोष्ट गरेको थियो ।

अधिकारकर्मीहरुको टोलीले गंगटेको शव पोष्टमार्टम रिपोर्ट, एआइजी कार्यालयले सार्वजनिक गरेको घटनाको प्रतिवेदनको प्रतिलिपिसमेत लिएको इन्सेक क्षेत्रीय प्रमुख महतले जानकारी दिनुभयो । मृतकका आफन्त भएपनि कोही पनि सम्पर्कमा नआएकोले प्रहरीको रोहवरमा घोराही उपमहानगरपालिकाले भदौ १६ गते नै शव गाडेको थियो । अनुगमन टोलीमा इन्सेक क्षेत्रीय प्रमुख भोला महत, क्षेत्रीय कार्यालयका प्रलेख अधिकृत नारायण सुवेदी, एड्भोकेसी फोरमका बसन्त गौतम, वि ग्रुपका गोपालनाथ योगी र इन्सेक जिल्ला प्रतिनिधि जे.एन.सागरको सहभागी रहेको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्