वाढी प्रभावित क्षेत्रको पुनःनिर्माणका लागि तत्काल काम गर्न गृहमन्त्री शर्माको निर्देशन



सैघाली खबर
काठमाण्डौ २८ , भदौ

गृहमन्त्री जनार्दन शर्माले छ महिनाभित्र बाढी प्रभावित क्षेत्रमा घर बनाउने गरी योजना निर्माण गर्न मातहतका निकायहरुलाई निर्देशन दिएका छन्। 

आज गृह मन्त्रालयमा आयोजित केन्द्रीय दैवीप्रकोप उद्धार समितिको बैठकमा बोल्दै मन्त्री शर्माले उक्त निर्देशन दिएका हुन् । ‘तथ्यांक संकलन गरेर एकमुष्ट रकम निकासा गर्ने व्यवस्था मिलाएर कम्तीमा छ महिनामा बाढी प्रभावितलाई पुनःस्थापना गर्ने गरी योजना बनाउनुहोस्,’–मन्त्री शर्माले भने ।

उनले बाढीका कारण विस्थापितहरूको तथ्यांक तयार गर्न निर्देशन दिँदै अर्को वर्षामा बाढी आउँदा आवश्यक उद्धार सामग्री अहिले नै किन्नुपर्ने बताए ।

मन्त्री शर्माको निर्देशनपछि केन्द्रीय दैवीप्रकोप उद्धार समितिले स्याउला, खरलगायतका सामग्रीले छाएको घरको छानोलाई जस्ताले छाउनका लागि दुई बण्डल जस्तापाता वितरण गर्ने निर्णयसमेत गरेको छ । यस्तै बाढी आएको बेला राहत र उद्धारमा विशेष भूमिका खेल्ने संघ संस्थालाई पुरस्कृत गर्ने निर्णय समेत गरेको छ ।

बैठकमा बोल्दै गृहराज्यमन्त्री श्यामकुमार श्रेष्ठले नीतिगत कमजोरीका कारण विपद्सम्बन्धी कार्य युद्धस्तरमा हुन नसकेको बताए ।

बैठकमा सरोकारवाला मन्त्रालयका सचिवहरुले आ–आफ्नो मन्त्रालय मातहतको क्षेत्रमा भएको क्षतिको विवरण प्रस्तुत गरेका थिए । रासस

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्