लोडसेडिङ हटाउने काम सफल हुन थाल्यो- घिसीङ



सैघाली खबर,
काठमाडौं, २९ भदौ– ।नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले देशमा लोडसेडिङ हटाउने काम सफल हुन थालेकोले अब दीर्घकालिन महत्वका आयोजनामा ध्यान केन्द्रित गर्ने बताउनुभएको छ ।

प्राधिकरणमा कार्यकारी निर्देशकको जिम्मेवारी सम्हालेको एक बर्षमा गरेका काम सार्वजनिक गर्न भएको पत्रकार सम्मेलनमा उहाँले २ वर्षभित्रै देश विद्युतमा आत्मनिर्भर हुने भएकाले देशभित्र आउँदो १० बर्षमा १२ हजार मेघावाट विजुली खपत हुने र विदेशमा विजुली बेच्नेतर्फ आफनो ध्यान केन्द्रित हुने बताउनुभयो ।

केही व्यक्तिको लागि असम्भव रहेको लोडसेडिङ अन्त्यको काम आफूले कुशल व्यावस्थापनबाट सम्पन्न गरेको भन्दै निर्देशक घिसिङले अब ५ सय मेगावाट भन्दा ठूला आयोजना र पूर्व पश्चिम तथा उत्तर दक्षिण जोड्ने ४ सय केभी क्षमताका प्रशारण लाइन निर्माणमा लाग्ने पनि बताउनुभयो ।

आर्थिक बर्ष २०७२÷७३ मा प्राधिकरण ३ अर्व ६ करोड नोक्सानीमा गएकोमा गएको बर्ष २ अर्व ४० करोड नाफा कमाउन सफल भएको भन्दै कार्यकारी निर्देशक घिसिङले यो आर्थिक बर्षमा प्राधिकरणको खुद नोक्सान पनि ९७ करोडबाट शुन्यमा झार्न सकिने दावी गर्नुभयो ।
आगामी हिउँदा लोडसेडिङ नहुने
प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले आउँदो हिउँदमा पोहोरको भन्दा पनि राम्रो अवस्थामा विद्युत प्रवाह गर्ने बताउनुभएको छ । ‘आउने हिउँदमा पोहोरको भन्दा पनि बेटर सिस्टम हुन्छ, लोडसेडिङ हुँदैन’ कार्यकारी निर्देशक घिसिङले भन्नुभयो, ‘विद्युत चुहावट पनि घटेको छ र पश्चिममा ३० मेघावाटको चमेलिया जलविद्युत आयोजना पनि हिउँद अगाडि नै सम्पन्न हुन्छ र पूर्वमा आवश्यक परेमा भारतबाट ल्याउन प्रशारणलाईन पनि तयारी छन्, त्यसैले लोडसेडिङ हुँदैन ।’

सोलारको परियोजना र एलइडी बल्व ल्याउने योजना सफल नभएपनि लोडसेडिङ शून्यमा झार्न तयार रहेको तर कुनै पनि ब्याकअप नभएकाले एउटा पावर प्लान्ट विग्रिएमा त्यसलाई मर्मत गरुञ्जेल लोडसेडिङ गर्नपर्ने बाध्यता भने रहेको उहाँले बताउनुभयो । कुलखानी अहिलेसम्म सञ्चान नगरिएको र पोहोरसालको भन्दा १ मिटर धेरै पानी संकलन भएकाले त्यसले पनि आगमी हिउँदमा लोडसेडिङ अन्त्य गर्न सहयोग पुग्ने घिसिङले दावी गर्नुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्