मुख्य समाचार

लोडसेडिङ हटाउने काम सफल हुन थाल्यो- घिसीङ

By थाहा अनलाइन

September 14, 2017

सैघाली खबर, काठमाडौं, २९ भदौ– ।नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले देशमा लोडसेडिङ हटाउने काम सफल हुन थालेकोले अब दीर्घकालिन महत्वका आयोजनामा ध्यान केन्द्रित गर्ने बताउनुभएको छ ।

प्राधिकरणमा कार्यकारी निर्देशकको जिम्मेवारी सम्हालेको एक बर्षमा गरेका काम सार्वजनिक गर्न भएको पत्रकार सम्मेलनमा उहाँले २ वर्षभित्रै देश विद्युतमा आत्मनिर्भर हुने भएकाले देशभित्र आउँदो १० बर्षमा १२ हजार मेघावाट विजुली खपत हुने र विदेशमा विजुली बेच्नेतर्फ आफनो ध्यान केन्द्रित हुने बताउनुभयो ।

केही व्यक्तिको लागि असम्भव रहेको लोडसेडिङ अन्त्यको काम आफूले कुशल व्यावस्थापनबाट सम्पन्न गरेको भन्दै निर्देशक घिसिङले अब ५ सय मेगावाट भन्दा ठूला आयोजना र पूर्व पश्चिम तथा उत्तर दक्षिण जोड्ने ४ सय केभी क्षमताका प्रशारण लाइन निर्माणमा लाग्ने पनि बताउनुभयो ।

आर्थिक बर्ष २०७२÷७३ मा प्राधिकरण ३ अर्व ६ करोड नोक्सानीमा गएकोमा गएको बर्ष २ अर्व ४० करोड नाफा कमाउन सफल भएको भन्दै कार्यकारी निर्देशक घिसिङले यो आर्थिक बर्षमा प्राधिकरणको खुद नोक्सान पनि ९७ करोडबाट शुन्यमा झार्न सकिने दावी गर्नुभयो । आगामी हिउँदा लोडसेडिङ नहुने प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले आउँदो हिउँदमा पोहोरको भन्दा पनि राम्रो अवस्थामा विद्युत प्रवाह गर्ने बताउनुभएको छ । ‘आउने हिउँदमा पोहोरको भन्दा पनि बेटर सिस्टम हुन्छ, लोडसेडिङ हुँदैन’ कार्यकारी निर्देशक घिसिङले भन्नुभयो, ‘विद्युत चुहावट पनि घटेको छ र पश्चिममा ३० मेघावाटको चमेलिया जलविद्युत आयोजना पनि हिउँद अगाडि नै सम्पन्न हुन्छ र पूर्वमा आवश्यक परेमा भारतबाट ल्याउन प्रशारणलाईन पनि तयारी छन्, त्यसैले लोडसेडिङ हुँदैन ।’

सोलारको परियोजना र एलइडी बल्व ल्याउने योजना सफल नभएपनि लोडसेडिङ शून्यमा झार्न तयार रहेको तर कुनै पनि ब्याकअप नभएकाले एउटा पावर प्लान्ट विग्रिएमा त्यसलाई मर्मत गरुञ्जेल लोडसेडिङ गर्नपर्ने बाध्यता भने रहेको उहाँले बताउनुभयो । कुलखानी अहिलेसम्म सञ्चान नगरिएको र पोहोरसालको भन्दा १ मिटर धेरै पानी संकलन भएकाले त्यसले पनि आगमी हिउँदमा लोडसेडिङ अन्त्य गर्न सहयोग पुग्ने घिसिङले दावी गर्नुभयो ।