समाचार

प्रदेश २ मा पहिलो बन्ने कांग्रेसको दाबी

By थाहा अनलाइन

September 14, 2017

सैघाली खबर, काठमाडौं २९ भदौ।। आसन्न स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा अत्यधिक ठाउँमा विजय हासिल गरी पहिलो दल बन्ने दाबी नेपाली काँग्रेसले गरेको छ । असोज २ गते हुने स्थानीय तहको निर्वाचनमा पार्टीको तयारीका बारेमा जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा काँग्रेसले कम्तीमा एक सय तहमा जित्ने दाबी गरेको छ ।

पत्रकार सम्मेलनमा पार्टीका केन्द्रीय सदस्य तथा केन्द्रीय प्रचारप्रसार समन्वय समितिका संयोजक रमेश लेखकले काँग्रेसले स्थापना कालदेखि अहिलेसम्म मधेश र मधेशवासीको हितमा गरेको कार्य नै प्रदेश नं २ को विजयको आधार भएको बताए । प्रदेश २ का सबै जिल्लाको प्रचारप्रसारमा सहभागी भएर फर्किउका संयोजक लेखकले निर्वाचन प्रचारप्रसारको तयारी र आम मतदाताको अपेक्षा, भावना र झुकाव हेर्दा यस चरणको निर्वाचनमा काँग्रेस पहिलो पार्टी बन्ने र त्यो परिणामले स्थानीय तहको समग्र निर्वाचनमै काँग्रेस पहिलो हुने विश्वास व्यक्त गरे ।

काँग्रेसले स्थानीय स्तरमा तीन स्थानीय तह गौर, मिथिला र निजगढ नगरपालिकामा प्रमुख र उपप्रमुख पदमा अन्य राजनीतिक दलसँग चुनावी तालमेल गरेको छ ।

मधेशीलगायत सम्पूर्ण भाषाभाषी, जनजाति, वर्ग र समुदायका नागरिकको भावनालाई समेटेर संविधानलाई अझ स्वीकार्य बनाउने सन्दर्भमा काँग्रेसले लिएको कदम पनि निर्वाचन जित्नमा सहयोगी हुने उनको भनाइ थियो ।