घोराही उपमहानगरले फोहोरबाट उर्जा निकाल्ने भवन निर्माण संहितामा कडाई गरिने



सैघाली खबर
दाङ २९ , भदौ

घोराही उपमहानगरपालिकाले फोहोरबाट उर्जा उत्पादन गर्ने कार्यलाई अघि बढाउने भएको छ । नगर कार्यपालिकाको बिहिबार बसेको बैठकले फोहोरको व्यवस्थापन सँगै उर्जा उत्पादन गर्नका लागि बैकल्पीक उर्जा प्रर्बद्धन केन्द्र सगँ थप सहकार्य गर्ने र प्रकृयालाई तत्काल अघि बढाउने निर्णय गरेको छ ।

उपमहानगरपालिकाभित्र उत्पादन हुने फोहरलाई व्यबस्थित गरी ऊर्जा उत्पादन गर्ने कार्यका लागि २०७३ कार्तिक ४ गते उपमहानगरपालिका र बैकल्पिक ऊर्जा प्रबद्र्धन केन्द्रबीच समझदारी पत्रमा हस्ताक्षर समेत भइसकेको छ । फोहोरबाट उर्जा निकाल्न बिस्तृत सम्भाव्यता अध्ययन गर्न प्रबद्र्धन केन्द्रसंगको सहकार्यमा सहमती दिने र योग्य निजि क्षेत्रलाई यस्को जिम्मेवारी दिने गरि प्रकृया अघि बढाउने निर्णय भएको प्रबक्ता भरत अर्यालले जानकारी दिनुभएको छ ।

बैठकले फोहरबाट ऊर्जा उत्पादन गर्ने प्रयोजनको लागि कम्तीमा २० वर्षसम्मको लागि फोहर निजि लगानीकर्तालाई उपलब्ध गराउने र २० वर्षपछि सम्पुर्ण मेसिन, औजार तथा उपकरणसहित छनौट गरिएको निजी क्षेत्रले उपमहानगरपालिकालाई चालु अबस्थामा हस्तान्तरण गराउने गरी अघि बढ्ने निर्णय भएको छ ।

उपमहानगरपालिकाको फोहोर व्यवस्थापन केन्द्रमा रहेको जग्गामध्ये ३ बिगाह जग्गा फोहरबाट ऊर्जा उत्पादन गर्ने, हरियाली र पार्क लगानीकर्ताले निर्माण गर्ने र सो जग्गासहित फोहरबाट उर्जा उत्पादन प्लान्ट २० वर्षपछि निजि लगानिकर्ताले चालु अवस्थामा उपमहानगरपालिकालाई हस्तान्तरण गर्ने निर्णय भएको छ ।

यसैगरी उक्त परियोजनाको लागि आवश्यक पर्ने जैविक फोहोरलाई श्रोतमा नै छुट्याउने गरी प्रत्येक बर्ष २० प्रतिशत घरधुरीका दरले ५ वर्षभित्र उपमहानगरपालिका, निजि लगानिकर्ता र सर्वसाधारण घरधनीको संयुक्त लगानीमा प्रत्येक घरधुरीमा दुई वटा फोहोर संकलन गर्ने फोहोरदानी कार्यान्वयनमा ल्याइने भएको छ ।

उपमहानगरपालिकाको प्रथम नगरसभाबाट पारित नीति, बजेट तथा कार्यक्रम अनुसार आर्थिक बर्ष २०७४÷७५ मा पुँजीगत तर्फबाट संचालन हुने योजनाको तीन प्रतिशत कन्सन्टेन्सी रकम कट्टा गरी उपमहानगरको खातामा जम्मा गर्ने र उक्त रकम तोकिएको शिर्षक बमोजिम खर्च गर्ने निर्णय पनि भएको छ ।

साथै उपमहानगरले अझै पनि सबै कर्मचारीको टुंगो नलागेको अवस्थामा आवश्यक क्षेत्रमा एक जना कर्मचारीले दुई देखि तीन वटा वडा कार्यालय हेर्ने गरी जिम्मेवारी दिने निर्णय गरेको छ । त्यसैगरी चालु आर्थिक बर्षमा लागत सहभागितामा संचालन गरिने योजनाहरुको लागत सहभागिताको रकम, भूगोल, सहभागिताको प्रकृति, योजनाको किसिम लगायतका विषयहरु समेटि कार्यविधी निर्माण गर्न लछिनप्रसाद बुढा, रमेशकुमार पाण्डे, कुलबहादुर लामिछाने, रामधन श्रेष्ठ, पवित्रा विक रहेको पाँच सदस्यीय कार्यदल गठन गरिएको र उक्त कार्यदलले पाँच दिनभित्र कार्यविधी निर्माण गरी कार्यपालिकामा पेश गर्न भनिएको छ ।

यसैगरी नगर कार्यापालिकाका सदस्य विष्णुमणि दाहाल, सुवोध रेग्मी, नारायणप्रसाद घर्ती र ठाकुरप्रसाद खनाल रहेको टोलीले स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन कायविधी २०७४ निर्माण गरी ३ दिनभित्र नगर कार्यापालिकामा पेश गर्ने निर्णय भएको छ । त्यसैगरी सामाजिक विकास समितिका संयोजक भरतमणि अर्याल, सामजिक विकास अधिकृत बालकृष्ण खनाल र स्रोतव्यक्ति विप्लब अधिकारी रहेको कार्यदल गठन गर्ने र उक्त कार्यदलले ३ दिनभित्र शिक्षक छनौट परीक्षा सञ्चालन कार्यविधी २०७४ निर्माण गरी कार्यापालिकामा पेश गर्ने गरी जिम्मेवारी दिइएको छ ।

साथै उपमहानगरको बैठकले नगर कार्यपालिकाको विभिन्न समितिहरुमा सदस्यहरुलाई मनोनयन समेत गरेको छ । जसमा सार्वजनिक सेवा तथा क्षमता विकास समितिको सदस्यमा खुसीराम चौधरी, हर्कबहादुर घर्ती, विमला गन्धर्व, आर्थिक विकास समितिका सदस्यमा विष्णुमणि दाहाल, पशुपति चौधरी, टोपाकुमारी पौडेल, सामाजिक विकास समितिमा चित्रबहादुर डाँगी, राजेन्द्र बुढा, माया रावत, पूर्वाधार विकास समितिमा केशवराज आचार्य, रविलाल घर्ती मगर, भिमबहादुर सार्की र चन्द्रप्रसाद चौधरीलाई मनोनयन गरिएको छ ।

वातावरण तथा विपत व्यवस्थापन समितिका सदस्यमा मानबहादुर बस्नेत, रेबबहादुर बुढाथोकी, धनबहादुर कुसुण्डा, विधेयक समितिमा कुलबहादुर लामिछाने, माधवप्रसाद चौधरी र डिल्लीबहादुर नेपालीलाई मोनयन गरिएको प्रबक्ता अर्यालले जानकारी दिनुभयो । साथै बैठकले तुलसीपुर चोकमा निर्माण गर्न लागिएको सार्वजनिक शौचालयको लागि आवश्यक पर्ने करिव चार धुर जग्गा नेपाल विद्युत प्राधिकरण घोराही शाखासंग माग गर्ने निर्णय पनि भएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्