मुख्य समाचार

चुनाव प्रचारको अन्तिम दिन उपेन्द्र यादवले ११ वटा सभालाई सम्बोधन गर्दै

By थाहा अनलाइन

September 15, 2017

सैघाली खबर काठमाडौं ३०, भाद्र

चुनाव प्रचारप्रसारको आज अन्तिम दिन प्रायः सबै शीर्ष नेताहरु विशेष कार्यक्रम र सभा गर्दैछन् । स्थानीय निकायको चुनाव अन्तर्गत प्रदेश नम्बर दुईको चुनावमा पहिलो पार्टी बन्न प्रतिष्ठाको बिषय बनाएका दलहरु जोडतोडले प्रचारमा जुटेका छन् । यतिबेला ठूलादेखि साना सबै दलका शीर्ष नेताहरु दुई नम्बर प्रदेशको आठ जिल्लामा केन्द्रीत छन् । यसैक्रममा, संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आज एघार वटा सभालाई सम्बोधन गर्दैछन् ।

यादव शुक्रबार (आज) दिनभर सिरहाको विभिन्न स्थानमा आयोजित चुनावी सभामा सहभागी हुँदैछन् । मधेश आन्दोलनको उद्गम स्थल र मधेशको प्रथम शहीद रमेश महतोको गृहजिल्ला भएकोले यादवले चुनावको अन्तिम दिन सिरहालाई रोजेको फोरम नेपाल सिरहाका अध्यक्ष बादल प्रसाद यादवले जानकारी दिए । अध्यक्ष यादवको कार्यतालिका अनुसार बिहान ९ बजे सिरहाको बन्दीपुरबाट सुरु भएको कार्यक्रम कल्याणपुरमा पुगेर साझ ६ बजे निर्वाचन कार्यक्रम समापन हुने यादवको सचिवालयले जनाएको छ । यसबीचमा उनी ११ वटा चुनावी सभामा सहभागी हुनेछन् ।

बन्दीपुरको सभालाई सम्बोधन गर्दै यादवले कर्जनहा गाउँपालिकामा आयोजित सभालाई सम्बोधन गर्नेछन् । त्यस लगत्तै उनले बरथवा गाउँपालिका, विष्णुपुर गाउँपालिकामा आयोजित चुनावी कार्यक्रममा सहभागी हुनेछन् । दिउँसो एक बजे औरही गाउँपालिकामा फोरम नेपाल सिरहाले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गरेर बरियारपट्टी गाउँपालिकाको कार्यक्रममा सहभागी हुनेछन् । तीन बजे लहान नगरपालिकामा आयोजित सभालाई अध्यक्ष यादवले सम्बोधन गर्नेछन् । महेशपुर पतायर गाउँपालिका हुँदै मिर्चैया नगरपालिकाको चुनावी कार्यक्रममा सहभागी हुनेछन् । अन्त्यमा साँझ ६ बजे कल्याणपुर नगरपालिकामा आयोजना गरिएको चुनावी सभालाई अध्यक्ष यादवले सम्बोधन गर्नेछन् ।