मुख्य समाचार

शैक्षिक गुणस्तर सुधार्न मेयर चौधरीको निर्देशन

By थाहा अनलाइन

September 16, 2017

सैघाली खबर,दाङ ,३१ भदौ। घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीले नगर क्षेत्रको शिक्षालाई गुणस्तरीय बनाउन प्रधानाध्यापकहरुलाई नेतृत्वदायी भुमिका खेल्न निर्देशन दिनुभएको छ ।

उपमहागरपालिकाले शुक्रबार घोराहीमा आयोजना गरेको ‘शैक्षिक सुधार तथा विद्यालय व्यवस्थापनका लागि प्रधानाध्यापकहरुलाई अभिमुखिकरण’ मा मेयर चौधरीले विद्यालयको कमजोरी पहिचान गरि सुधार योजना बनाएर शैक्षिक गुणस्तर बढाउन निर्देशन दिनुभएको हो ।

मेयर चौधरीले गुणात्मक शिक्षा कसरी दिने भन्नेमा केन्द्रित हुन र पढाईको ग्यारेण्टी गर्न प्रधानाध्यापकहरुलाई निर्देशन दिनुभयो । घोराही उपमहानगर क्षेत्रमा रहेका ९९ सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुलाई बोलाई मेयर चौधरीले सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन सुझाब दिनुभएको हो ।

निजि विद्यालयको तुलनामा कमजोर भएकै कारण सामुदायिक विद्यालय प्रतिको बिश्वास घट्दै गएको तर्फ संकेत गर्दै उहाँले गुणस्तरीय शिक्षामा शिक्षक, अभिभाबक र सरोकारवालाहरुको मन जित्ने गरी जिम्मेवारी निभाउन प्रधानाध्यापकहरुलाई निर्देशन दिनुभएको हो ।

सामुदायिक विद्यालयहरुको शैक्षिक सुधार कमजोर हुने र बिद्यार्थी बाहिरिने अबस्था आए विद्यालय मर्ज गर्ने चेतावनी दिदै उहाँले केही शिक्षकका कारण बिद्यार्थीको भबिष्य अन्यौलमा पर्ने स्थिती आए उपहानगर नियम अनुसार अघि बढ्ने समेत जानकारी दिनुभयो ।

शिक्षा कमजोर हुदा सामाजिक क्षेत्र नै कमजोर हुने भएकाले शैक्षिक गुणस्तर सुधार्नु नै अहिलेको मुख्य आबस्यकता भएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीले शैक्षिक जग बलियो भए मात्रै दक्ष जनशक्ति उत्पादन गर्न सकिने बताउनुभयो ।

त्यसैगरी घोराही उपमहानगरपालिकाका कार्यकारी अधिकृत कृष्णप्रसाद सापकोटाले शैक्षिक गुणस्तर सुधार सँगै अनुसाशन र सरसफाईको नेतृत्व गर्न पनि प्रधानाध्यापकहरुलाई आग्रह गर्नुभयो ।

शिक्षा अधिकारी रुद्रप्रसाद रेग्मीले शिक्षकहरुलाई अधिकतम समय विद्यार्थीको सिकाईमा खर्च गर्न निर्देशन दिनुभयो । गुणस्तरीय र व्यवहारीक शिक्षा दिन अग्रसर बन्नु पर्नेमा जोड दिदै कर्मचारीबाट हुने काममा शिक्षकहरुलाई पढाई नछाड्ने उहाँले आग्रह समेत गर्नुभयो ।

कार्यक्रममा स्रोत व्यक्ति विप्लव अधिकारीले उपमहानगरको शैक्षिक अबस्थाका बारेमा जानकारी दिदै ९९ विद्यालयमा ६ सय ८० शिक्षक कार्यरत रहेको र २८ हजार २८ विद्यार्थीहरु रहेको जानकारी दिनुभयो ।

स्रोत व्यक्ति रामप्रसाद जैशीको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमको सहजिकरण अर्का स्रोत व्यक्ति हुमबहादुर केसीले गर्नुभएको थियो ।