थवाङ पुगेर प्रचन्डले भने समानान्तर जनसत्ताकैको कुनै औचित्य छैन



सैघाली खबर

रोल्पा ३१ भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड ले जनयुद्धकै एजेण्डाको रुपमा स्थानीय तह आएको बताउनु भएको छ । रोल्पाको थवाङ गाउँपालिकाको प्रथम गाउँसभा उद्घाटन गर्दै उहाँले भन्नुभयो– ‘अहिले बनेका स्थानीय तहहरु बिगतमा हामीले जनयुद्धको क्रममा सञ्चालन गरेकै जनसत्ताका वैधानिक रुप हुन् । त्यतिबेला बजेट आउँदैन्थ्यो, अहिलेका जनसत्तामा केन्द्र र प्रदेशबाट बजेट आउँछ । त्यसैले अब पनि समानान्तर जनसत्ताकै अभ्यास गर्नुको कुनै औचित्य छैन भन्नुभयो ।

यही नै जनसत्ताको अभ्यास भएको उल्लेख गर्दै उहाँले भन्नुभयो– ‘हामीले हिजो जनयुद्धकालमा सांकेतिकरुपमा एक्लै जनसत्ता चलाएका छौं, अहिले कांग्रेस एमालेलगायतका दल पनि हाम्रो जनसत्तामा आएको छन्, यो ठूलो परिवर्तन हो ।’ जहाँसम्म जनसत्ता कसले चलाउने भन्ने सवालमा जसलाई जनताले विश्वास गर्छन्, उसले नै सत्ता चलाउने बताउनुभयो । करोडौंको बजेट र सम्पूर्ण निर्णय गर्ने अधिकार जनताकै घरआँगनमा आउनु जनयुद्धकै उपलब्धि भएको उल्लेख गर्दै उहाँले यही नै जनसत्ताको अभ्यास भएको बताउनुभयो ।

स्थानीय तहमा ब्यवस्थापिका र कार्यपालिका मात्र होइन हिजो आफूहरुले गरेकै जनअदालतको अभ्यासको निरन्तरतास्वरुप स्थानीय तहमा न्यायिक समिति बनाएर न्यायपालिकाको काम समेत शुरु गरिएको उहाँले बताउनुभयो ।अहिले बनेका स्थानीय तहहरु बिगतमा आफूहरुले अभ्यास गरेको समानान्तर जनसत्ताकै वैधानिक रुप भएको बताउनुभएको छ ।प्रचण्डको थवाङ भ्रमण अवरोध पार्ने प्रयासस्वरुप नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ताले आफूहरुको जनसत्ताको अनुमतिविना प्रचण्डलाई बोलाएको आरोप लगाउँदै गाउँपालिका अध्यक्षलाई अपहरण गरेको भोेलिपल्ट पुग्नुभएका प्रचण्डले भन्नुभयो– ‘यही हो जनसत्ता, जनताले चुन्ने, जनताकै छोराछोरीले सत्ता लगाउने योभन्दा अर्को जनसत्ता हुनसक्दैन ।’

उहाँले भन्नुभयो ‘हिजो हामीले जनयुद्धको बेलामा सब भन्दा पहिले जनसरकार भनेर थबाङबाट शुरुवात गरेका हौं तर त्यसबेला राष्ट्रिय रुपमा मान्यता भएको थिएन । तर अहिले जे बनेको छ यो पनि जनसरकार नै हो ।’थबाङका जनता कसैको डर धम्की र धाकका पछाडी नलाग्ने बताउँदै उहाँले थबाङगाउँपालिकाको बिकासका लागि आफु अहोरात्र खटने बताउनुभयो । थबाङगाउँपालिकालाई नमुना गाउँपालिका बनाएर छाडने प्रचण्डको उदघोष थियो ।जनयुद्धमा ज्यान गुमाएका धेरै सहिद बेपत्ता, घाईते अपांगको आशा पुरा गर्नका लागि थबाङगाउँपालिकालाई नमुना गाउँपालिका बनाउनको लागि काम शुरु गर्न समेत उहाँले सबै सरोकारवाला निकायहरुलाई आग्रह गर्नुभएको हो ।‘थबाङलाई छुटटै गाउँपालिका बनाउने र थबाङमै केन्द्र राख्ने भनेर साथीहरुले भन्नुभयो । आज आफैं भन्ने आफैं उल्टो बाटो हिँडने रु साथीहरुलाई मैले प्रश्न गर्न चाहन्छु ।’ अध्यक्ष दाहालले थप्नुभयो ‘रोल्पाको थबाङ र रुकुमका केही गाउँपालिका मिलाएर छुटटै जिल्ला बनाउनका लागि बर्मन बुढा लगायत रुकुमका केही साथी हरुले आग्रह गर्नुभएको छ ।’

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्