ढुक्क भएर मतदान गरौं -आयुक्त डा। अयोधीप्रसाद यादव



सैघाली खबर,
१ असोज।
प्रमुख निर्वाचन आयुक्त डा। अयोधीप्रसाद यादवले मौन अवधिको बर्खिलापमा जानेलाई ठाडो कारबाही हुने बताएका छन् । उनले सुरक्षा व्यवस्था चुस्त भएकाले ढुक्क भएर मतदान गर्न मतदातालाई आग्रह गरे।

असोज २ गते हुने तेस्रो चरणको स्थानीय तहको तयारी सम्बन्धमा जानकारी लिन शनिबार साँझ महोत्तरीको सदरमुकाम जलेश्वर आएका यादवले सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै मौन अवधिको वर्खिलापमा जानेलाई ठाडो कारबाही हुने बताए । ‘निर्वाचन आयोगले शुक्रबार राति १२ बजेदेखि मौन अवधि लागू गरेको छ ।’ प्रमुख निर्वाचन आयुक्त यादवले भने, ‘मौन अवधिको बर्खिलाप गर्दै कुनै पनि उम्मेदवारले प्रचारप्रसार र मतदातालाई प्रलोभनमा पार्नेखाले कुनै पनि किसिमको काम गरेको पाइए त्यस्ता उम्मेदवारलाई ठाडो कारबाही हुन्छ।’

मतदाता नामावलीमा कति पय मतदाताको परिचय पत्रमा त्रुटि रहेको र मतदाता परिचयपत्र नपाएका मतदाताले मतदाता नामावलीमा नाम भए नागरिकता, कर्मचारी परिचयपत्र र चालक अनुमतिपत्र लिएर जाँदा पनि भोट हाल्न पाउने व्यवस्था गरिएको जानकारी उनले दिए । उनले असोज २ गते हुने मतदानको सम्पूर्ण तयारी पूरा भइसकेको बताए।

मतदानका लागि आवश्यक पर्ने सामग्रीसमेत मदतान केन्द्रसम्म पुगिसकेको प्रमुख यादवले बताए । पर्साबाट महोत्तरीको जलेश्वरसम्म आइपुग्दा निवार्चनको तयारीको अवस्था ज्यादै सन्तोषजनक पाएको उनले जनाए । ‘निर्वाचन व्यवस्थापन दृष्टिकोणबाट ज्यादै नै सन्तोषजनक अवस्था छ,’ यादवले भने ‘मतदाताहरुले स्वच्छ, निस्पक्ष र धाँधलिरहित वातावरणमा मतदान गर्न पाउने सबै व्यवस्था मिलाइएको छ, मतदाता ढुक्क भएर मतदान गर्न जाँदा हुन्छ।’

बढीभन्दा बढी मतदान गरेर प्रदेश २ अन्तर्गतका आठवटै जिल्लाको चुनाव सफल पार्न उनले सबै मतदातालाई अनुरोध गरे।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्