सर्नेभन्दा नसर्ने रोगबाट जोखिम उच्च



सैघाली खबर,
काठमाणडौ २ असोज।
पछिल्लो समयमा नेपाली समाजमा सर्नेभन्दा नसर्ने रोगको जोखिम उच्च हुँदै गएको छ ।
विश्व स्वास्थ्य संगठनले सन् २००० मा गरेको सर्वेक्षणअनुसार सर्ने रोग ७० प्रतिशत र नसर्ने रोग ३० प्रतिशत रहेकामा अहिले नसर्ने रोग बढेर ६० प्रातिशतभन्दा माथि र सर्ने रोग घटेर ४० प्रतिशतभन्दा तल झरेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार अस्पतालका बहिरङ्ग सेवामा सेवा लिन पुगेका बिरामीमध्ये ८१ प्रतिशत नसर्ने रोगका बिरामी रहेका छन् । प्राथमिक स्वास्थ्य सेवा स्रोेत केन्द्रले आज यहाँ आयोजना गरेको कार्यक्रममा नसर्ने रोग रोकथाम गर्न विशेष कार्यक्रम सञ्चालन नगरिए भयावह हुन सक्ने जानकारी दिइयो ।

मुटु, मिर्गौला, क्यान्सर, मधुमेह, रक्तचाप तथा श्वासप्रश्वासजस्ता रोगी पछिल्लो समय बढिरहेका छन् । शहीद गंगालाल हृदय रोग केन्द्रको अध्ययनमा १८ वर्षमाथिका वयस्कमा उच्च रक्तचाप २३ प्रतिशत रहेको छ । अर्कोतर्फ कूल मृत्युको ५१ प्रतिशत कारण नै नसर्ने रोग बनिरहेको छ ।

कुपोषण, मातृ तथा शिशुमृत्यु, सडक दुर्घटना तथा चोटपटकले हुने मृत्युको प्रतिशत ४९ मात्र छ । सर्ने तथा नसर्ने रोगबाट मृत्युका यी तथ्यांकले स्वास्थ्य सेवामा गम्भीर असर पार्नेसमेत विज्ञले जनाएका छन् ।

विश्व स्वास्थ्य संगठनले दक्षिण पूर्वी एशिया क्षेत्रमा नसर्ने रोगविरुद्ध सामूहिक रुपमा लड्न रणनीतिसमेत तयार गरेको छ । स्वास्थ्य मन्त्रालयले समेत नसर्ने रोग नियन्त्रण गर्न नीति बनाई कार्यान्वयनसमेत गरिराखेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्