सर्लाहीका ९ स्थानमा मतगणना जारी, बाँकी ११ ठाउँमा गणनाको तयारी



सैघाली खबर
सर्लाही, ३ असोज


हिजो निर्वाचन भएका सर्लाहीका ९ वटा स्थानीय तहमा गएरातीबाट मतगणना भइरहेको छ । सर्लाहीका मुख्य निर्वाचन अधिकृत सूर्यप्रसाद अधिकारीका अनुसार ईश्वरपुर, बरहथवा, हरिवन, बलरा नगरपालिका तथा विष्णु, चन्द्रनगर, धनकौल, कौडेना लगायतका गाउँपालिकामा मतगणना भैरहेको छ । बाँकी ११ स्थानीय तहमा सर्वदलिय बैठकको निर्णय अनुसार कतिपय ठाउँमा बिहान ७ बजेदेखि मतगणना सुरु गरिएको मुख्य निर्वाचन अधिकृत अधिकारीले बताउनुभयो । प्रत्येक ठाउँमा कडा सुरक्षाकाबीच मतगणना भइरहेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कँडेलले बताउनुभयो ।

खोलामा बाढी आएकाले लालबन्दी नगरपालिकाको वडा नम्वर १४ नारायणखोलाका तीन वटा मतदान केन्द्र बाहेक अरु सबै स्थानका मतपेटिका संकलन भइसकेको छ । नारायणखोलाको मोटरदोभान मतदान केन्द्र (क) र (ख) को मतपेटिका लिएर आज बिहान त्यहाँबाट कर्मचारी हिडिसकेका र डाइनी दोभान मतदान केन्द्रको भने चुरेभेगमा हिजो दिउँसो परेको पानीले खोलामा बाढी आइरहेकाले मतपेटिका ल्याउन समस्या भएको छ । लालबन्दीमा नारायणखोलाको मतपेटिका आएपछि मात्रै मतगणना सूरु हुने बताइएको छ ।

उता सर्लाहीको हरिवन नगरपालिकाको बिलन्दीबाट मतपेटिका ल्याउने क्रममा गएराती अज्ञात व्यक्तिले पे्रसर कुकर बम बिष्फोट गराएका छन् । तर कडा सुरक्षाकाबीच सुरक्षित साथ मतपेटिका मतदान अधिकृतको कार्यालयमा ल्याइएको प्रमुख जिल्ला अधिकारी प्रदिपराज कँडेलले बताउनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्