प्रधानमन्त्री शेरबहादुर देउवा आज अमेरिका जांदै



सैघाली खबर
काठमाडौं,३ असोज

प्रधानमन्त्री शेरबहादुर देउवा आज अमेरिकाको न्युयोर्क जांदै हुनुहुन्छ । संयुक्त राष्ट्रसंघको ७२औं महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री देउवा न्युयोर्क जान लाग्नु भएको हो ।

उहाँले असोज ७ गते राष्ट्रसंघीय महासभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री देउवाले महासभामा नेपालले विश्वमा शान्ति स्थापनामा पु¥याएको योगदान, नेपालको शान्ति प्रक्रिया, संविधान कार्यान्वयन र स्थानीय तहको निर्वाचनका साथै आगामी मंसिरमा हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको विषयमा विश्व मञ्चलाई जानकारी गराउनुहुनेछ ।

प्रधानमन्त्रीको भ्रमण टोलीमा उपप्रधान तथा परराष्ट्रमन्त्रीसहित २४ जना सहभागी हुनेछन् । टोलीमा न्युयोर्कस्थित नेपाली नियोगबाट थप २१ सदस्य सहभागी हुनेछन् । भ्रमण टोलीमा प्रधानमन्त्री पत्नी आरजु राणा सल्लाहकारका रूपमा सहभागी हुन लाग्नु भएको छ । उपप्रधानमन्त्री कृष्णबहादुर महरा, उहाँका प्रमुख स्वकीय सचिव युवराज चौलागाईं तथा परराष्ट्र मन्त्रालयका राष्ट्रसंघ महाशाखाका प्रमुख भरतराज पौडेल आइतबार नै न्युयोर्क पुगिसक्नु भएको छ । प्रधानमन्त्रीसँगै महिला बालबालिका तथा समाजकल्याणमन्त्री आशा कोइराला, परराष्ट्र सचिव शंकरदास बैरागी, परराष्ट्र मन्त्रालयका विभिन्न महाशाखाका प्रमुखसहित थप सात प्रतिनिधि रहने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

न्युयोर्कबाट फर्किने क्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले खाडी राष्ट्रका राजदूतहरूलाई निर्देशन दिने कार्यक्रमसमेत तय भएको छ । प्रधानमन्त्री देउवा १२ असोजमा स्वदेश फर्किनुहुनेछ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्