नयाँ शक्तिबाहेक सबै दलसँग सहकार्य गर्न सक्छौँ : प्रचण्ड



सैघाली खबर
काठमाडौँ, ४ असोज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रदेश र प्रतिनिधि सभा चुनावमा नयाँ शक्ति पार्टीबाहेकका दलसँग सहकार्य हुनसक्ने बताउनुभएको छ ।

अगुवा कार्यकर्ताको प्रशिक्षणको लागि गोरखा पुग्नुभएका अध्यक्ष प्रचण्डले नयाँ शक्तिसँग कार्यगत एकताको पहल गरे पनि संयोजक बाबुराम भट्टराईसँगको दूरी बढेकाले सहकार्य हुन नसक्ने बताउनुभएको हो । तर आउँदो मंसिर १० र २१ गतेका लागि तय भएको प्रदेश र प्रतिनिधि सभा चुनावको लागि अरु पार्टीसँग भने सहकार्य गरेर अघि बढ्न सक्ने उहाँले बताउनुभयो ।

यस्तै प्रदेश र प्रतिनिधि सभाको चुनावमा भट्टराईले आफ्नो उम्मेदवारी दिने घोषणा गरेका गोरखा क्षेत्र नम्बर २ मा भने माओवादी केन्द्रले कुनै पनि दलसँग सहकार्य नगरे पनि जित्ने दाबी गर्दै उहाँले त्यहाँ माओवादीले एक्लै उम्मेदवारी दिने घोषणा पनि गर्नुभयो ।

यस्तै उहाँले सोमबार प्रदेश नम्बर २ मा भएको स्थानीय तहको चुनावले तराई, मधेस र पहाडलाई एकताबद्ध बनाएको दाबी पनि गर्नुभयो । तराईमा शान्तिपूर्ण रुपमा चुनाव हुनु नै ठूलो उपलब्धि भएको भन्दै उहाँले यसलाई हारजितको रुपमा लिन नहुनेमा जोड दिनुभयो ।

संविधान कार्यान्वयनका लागि चुनाव भएको भन्दै अध्यक्ष दाहालले संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख राख्नुपर्ने भन्नेमा आफूले अरु दलसँग छलफल गरिरहेको जानकारी पनि दिनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्