प्रकाशमान सिंहले भने, यो ‘उखाने’ सरकार हो



काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले दुईतिहाइको बलियो सरकारलाई ‘उखाने’को संज्ञा दिँदै नागढुंगाको जाम खुलाउन नसकेको भन्दै चर्को आलोचना गरेका छन् ।

काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ ले आज आयोजना गरेको शुभकामना आदान प्रदान एवम् चियापान कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले भाषण र उखान टुक्काले देश नचल्ने बताए ।

ओली नेतृत्वको सरकारले नागढुंगाको जाम खुलाउन नसक्दा सर्वसाधारणको ज्यान गएको भन्दै उनले भने, ‘हुतिहारा सरकारले जाम समेत खुलाउन ध्यान नदिनु लाजमर्दो कुरा हो।’

नेता सिंहले सरकारका कारण सर्वसाधारणले ज्यान गुमाउन परेको भन्दै आक्रोश व्यक्त गरे ।

‘यो सरकारसँग जनताले धेरै ठूलो अपेक्षा गरेर झण्डै दुईतिहाइको मत दिएका थिए’, ‘भाषण गरेर, उखान, टुक्का भनेर हुँदैन ।’ दुईतिहाइ बहुमत पाएको सरकारले जनतालाई राहत दिनुपर्नेमा चाडपर्वको समयमा चर्को मुल्यवृद्धिको मार खेप्नु परेकोतर्फ जिम्मेवार बन्न सरकारलाई आग्रह समेत गरे ।

नेता सिंहले चिनियाँ मोडलको व्यवस्था देशमा भित्र्याउने कार्य गर्न खोजे दुर्भाग्यपूर्ण हुने चेतावनी दिए । नेपालको संविधानको मर्म र भावना विपरित काम नगर्न समेत उनले सरकारलाई सुझाव दिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्