भक्तपुर घटनाको पोष्टमार्टम : आमाको टाउकोमा चोट, छोराको घाँटी काटेको भेटियो (भिडियाे)



काठमाडौं / ३० भदौ।
मध्यपुरथिमि नगरपालिका–९ निकोसेरास्थित सुदीप अधिकारी दम्पती र छोरा सुशान्त आफ्नै घरमा मृत फेला परेका थिए।

शुक्रवार साँझ मृत फेला परेका उनीहरुको भक्तपुरस्थित काठमाडौँ मेडिकल कलेज (केएमसी) मा शव परीक्षण गरिएको छ । शव परीक्षणको विस्तृत रिपोर्ट आउन बाँकी छ । तर, प्रारम्भिक रिपोर्ट अनुसार सुदीप पत्नी सम्झना र छोरा सुशान्तको टाउकोमा चोट देखिएको छ ।

‘छोरा सुशान्तको टाउकोमा चार पटक र श्रीमतीको टाउकोमा तीन पटक दाउले हिर्काएको देखिन्छ,’ महानगरीय अपराध महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दीपक थापाले भने–‘सुशान्तको घाँटीमा हतियारले काटेको गहिरो चोट छ ।’

सुदीपको शरीरमा चोट छैन् । उनले विष खाएर आत्महत्या गरेको पोष्टमार्टम रिपोर्टबाट पनि खुलेको छ । मुसा मार्ने ‘सेल्फस’नामक विषको दुईओटा बाहिरी खोल घरबाहिर बारीमा भेटिएको छ । विषको बट्टा घरको छतबाट फाल्दा बारीमा पुगेको हुनसक्ने अनुसन्धान अधिकृतहरु बताउँछन् ।

घरको पहिलो तल्ला जहाँ सुशान्त मृत भेटिए, त्यहाँ फलामको बिँड भएको दाउ र भान्सामा प्रयोग हुने चक्कु फेला परेको थियो । सुदीपले पहिलो श्रीमती र त्यसपछि छोराको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ ।

आमा–छोराको भिसेरा परीक्षण गर्न प्रहरीले नेपाल प्रहरीको विधिविज्ञान प्रयोगशालामा स्याम्पल पठाएको छ ।

घर बैङ्कमा धितो
सुदिप अधिकारी जगातीस्थित ओम्निका ल्याबोरेटरिजमा काम गर्थे । तर, अत्यधिक मदिरा सेवन गर्ने उनको बानीका कारण सो औषधि कम्पनीले उनलाई जागिरबाट निकाल्यो ।

पछिल्लो समय अधिकारी दम्पतीले निकोसेरास्थित घरको सटरमा किराना पसल चलाउँथे । १ आना तीन पैसामा बनेको सो घर बैङ्कमा धितो थियो । १ वर्षअघि कृषि विकास बैंकमा २३ लाख ८५ हजार ऋण लिएर उनीहरुले घर धितो राखे ।

किराना पसलमा सामान थप्न लकडाउन शुरु भएपछि ससुरालीसँग २ लाख ऋण लिए । ऋणको बोझ थियो, आम्दानी थिएन् । ब्याज तिर्न नसक्ने अवस्था भएपछि घरमा दैनिक झगडा हुन थाल्यो । ऋणको बोझ र घरझगडाले सुदीपले श्रीमती र छोरासँगै आफ्नो ईहलिला आफैंले समाप्त पारेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ ।

याे पनि हेर्नुस्र :

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्