कांग्रेस नेता डा.मिनेन्द्र रिजालमाथि आक्रमण प्रयास



नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालमाथि नेकपा कार्यकर्ताबाट आक्रमणको प्रयास भएको छ । तनहुँको सदरमुकाम दमौलीबाट रिसिङ गाउँपालिका जाने बाटोमा सत्तारुढ नेपाल कम्यनिस्ट पार्टी नेकपाका कार्यकर्ताहरुले डा. रिजालमाथि आक्रमणको प्रयास गरेका हुन् ।

नेकपाका कार्यकर्ताहरुले उनलाई गाउँपालिका कार्यालय जान नदिन बाटोमा रुख ढाल्नुका साथै ढुंगा राखेर अवरोध सिर्जना गरेको बताइएको छ । नेता रिजालले आफूमाथि नेकपा कार्यकर्ताहरुले हतियार र लाठीले आक्रमण गर्न खोजेको प्रतिक्रिया दिएका छन् । रिजालले ४–५ ठाउँमा रुख ढालेर, बाटोमा ढुंगा राखेर अवरोध गर्नुका साथै हतियार, ढुंगा, लाठीसहित आक्रमण गर्न खोजेको बताए । नेकपाका कार्यकर्ताहरुले अवरोध गरे पनि नेता रिजाल स्थानीय नेता कार्यकर्ताहरुका साथ अहिले गाउँपालिका कार्यालय पुगिसकेका छन् ।

गाउँपालिकाको बैठकले भवनको उद्घाटन कांग्रेसका नेता रिजालबाट गराउने निर्णय गरेको थियो । गाउँपालिकाको निर्णयका विषयमा प्रहरी प्रशासनलाई समेत जानकारी रहेको बताइएको छ । यसैबीच कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विज्ञप्ति जारी गरेर गाउँपालिका भवन उद्घाटनका लागि अतिथिलाई कुरेर बसेका लाखौ जनतामाथि अपमान गर्दै नेकपाका कार्यकर्ताले ‘मण्डले’ शैलीमा रिजाललाई अवरोध गरेको बताएका छन् ।

नेकपाका कार्यकर्ताले ‘मण्डले’ शैलीबाट बाटो अवरोध गरेर कांग्रेस नेता रिजाल र तनहुँको रिसिङका जनतामाथि अपमान गरेको विज्ञप्तिमा उल्लेख छ । “पञ्चायतका ‘मण्डले’ हरुको शैली अनुसरण गर्दै नेकपाका नेता कार्यकर्ता फासीवादी र अधिनायवादी शैलीमा प्रस्तुत भएको घटनाको म घोर भत्र्सना गर्दछु,” नेता पौडेलले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्