दोहोरो करको समस्या समाधान गर्न कानुन नै संशोधन गर्छौं : अर्थमन्त्री खतीवडा



अर्थमन्त्री डा. युवराज खतिवडाले दोहोरो करको समस्या समाधान गर्न कानुन नै संशोधन गर्न लागिएको बताएका छन् ।

तीन तहका सरकारले लगाएको करमध्ये दोहोरो परेका अधिकांश समस्या समाधान भएको भन्दै खतिवडाले बाँकी रहेका समस्या समाधानका लागि अन्तर सरकारी वित्त व्यवस्थापन ऐन र स्थानीय शासन सञ्चालन ऐन संशोधनको तयारी भइरहेको बताएका हुन् । काभ्रेको पनौतीमा अभियान लघुवित्त वित्तीय संस्थाको उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले एउटा तहले उठाएको कर अर्को सरकारले हस्तान्तरण नगर्ने समस्या रहे पनि दोहोरो करको समस्या भने अब नरहेको उल्लेख गरे ।

लघुवित्त वित्तीय संस्थाले स्वरोजगार उत्पादन गर्न र रोजगारी सिर्जाना हुने गरी काम गर्नुपर्ने उनको भनाइ छ । लघुवित्त संस्थाहरु नेपाल राष्ट्र बैंकको नियमनको दायराभित्र बसेर काम गर्नुपर्ने भन्दै उनले समाजले नै पचाउन नसक्ने नाफा लिन अग्रसर हुन नहुने पनि बताए । मन्त्री खतिवडाले स्थानीय तहको संरचनाको सुन्दर पक्षहरुलाई व्यवस्थित गरेर अघि बढ्न पनि सुझाव दिएका छन् । सरकारले भौतिक पूर्वाधारको विकासमा जोड दिएको भन्दै खतिवडाले पूर्वाधार विकास भएपछि जनताको सरकार प्रतिको गुनासो कम हुँदै जाने पनि बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्