नेपाल चीन सम्बन्धको बहुआयामिकताबारे चर्चा

सन्दर्भ: जनबादी गणतन्त्र चीनको स्थापना भएको ७० औं वर्षगाँठ


जनबादी गणतन्त्र चीनको स्थापना भएको ७० औँ वर्षगाँठका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमका वक्ताहरुले नेपाल चीन सम्बन्ध बहुआयामिक भएको र एक अर्काले सिक्ने विविध विषय रहेको धारणा राखेका छन् ।

नेपाल चीन विद्यार्थी मञ्चले आयोजना गरेको अन्तर्क्रियामा सहभागीहरुले त्यस्तो विचार व्यक्त गरेका हुन् ।

कार्यक्रममा आफ्नो धारणा राख्दै चीनका लागि पूर्व राजदूत तथा नेकापका नेता टंक कार्कीले नेपाल चीन सम्बन्ध परापूर्व कालदेखि रहेको बताए । उनले अहिले नेपाल आर्थिक रूपमा कमजोर रहेकोले पूर्वाधार विकासमा चीनको लगानी स्वीकार गर्न सकिने बताए । अनेरास्वविुका पूर्व अध्यक्ष समेत रहेका कार्कीले अमेरिकी र भारतीय पक्षले नेपाललाई आफ्नो कब्जामा राख्न प्रयास गरेपनि नेपालले त्यसलाई चिरेर चीनसँग सम्बन्ध सुधार गरेको दावी गरे । उनले भने, ‘ बिआरआईमा सहभागिता नजनाउने शर्तमा धेरै अफरहरु आए तर हामीले अगाडिको भागमात्र हेरेनौँ ।’ इन्डो प्यासिफिक रणनितितर्फ संकेत गर्दै उनले नेपाल चीनको सम्बन्धमा दरार ल्याउन धेरै प्रयत्न भएका बताए।

नेपालले चिनियाँ पर्यटक भित्र्याएर अथाह प्रगति गर्न सक्दछ भन्दै उनले नेपालले चिनियाँ अर्थव्यवस्थामा आएको आश्चर्यजनक उपलब्धीबाट धेरै कुरा सिक्न सक्ने बताए ।

कार्यक्रमका अर्का वक्ता एवम् नेकपा नेता लेखनाथ न्यौपानेले चिनियाँ कम्युनिष्ट पार्टीको राजनीतिक गतिविधि, नेतृत्वको पारदर्शिता, राष्ट्रिय एकता, गरिबी निवारणमा नेतृत्वले खेलेको भूमिका जस्ता कुराहरू अनुशरण गर्नुपर्ने बताएका छन् । उनले चीनको इतिहासबाट नेपालले राष्ट्रिय स्वाधिनतालाई कसरी जगेर्ना गर्ने भन्ने विषयमा धेरै सिक्न सक्ने धारणा राखे ।
उनले भने, “कम्युनिष्ट पार्टीको गठन, सञ्चालन र सरकार सँगको सम्बन्ध बाट जनताको जीवनस्तर कसरी उठाउने भन्ने बारेमा हामीले चीनबाट सिक्नै पर्दछ ।”

कार्यक्रमका अतिथी सिन्हवा न्युज एजेन्सी काठमाडौं ब्युरोका प्रमुख चौ सेनपिङले नेपालले लघुत्ताभासबाट बाहिर आएर त्रिदेशीय सहकार्यको नेतृत्व गर्नुपर्ने धारणा राखे । उनले भने, “चीन र नेपालले एकअर्काबाट धेरै कुरा सिक्न सक्दछन्।” नेपालले चीनबाट आर्थिक उन्नतिको रणनीतिबारे ज्ञान हाँसिल गर्नसक्ने धारणा राखे । उनले नेपालमा धेरै राम्रा र सकारात्मक कुराहरू भएपनि नेपाली मिडियाले सबै नकारात्मक र राजनीतिक विषयमात्र उठाएको देखेर दङ्ग परेको बताए । उनले भने, कहिले काँही त मलाई प्रजातन्त्र बढी भए झैँ लाग्छ ।

नेपाल चीन विज्ञ एवम् डेढ दशक लामो समय चीनमा बिताएका नेकपा नेता डा सागर न्यौपानेले त्यहाँको गरिबी निवारण र दिगो विकासको मोडेल नेपालले अनुशरण गर्नुपर्ने धारणा राखे । नेपाल चीनबीचको सम्बन्धको बहुआयामिक प्रकृतिको चर्चा गर्दै उनले हालै नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीबीच भएको सहमतिको बचाउ गरेका थिए ।

रत्नराज्य लक्ष्मी क्याम्पसमा आयोजित उक्त अन्तर्क्रियामा स्ववियु सभापति टोपेन्द्र जङ्ग शाहीले एक चीन नीतिमा नेपाल अडिग रहनुपर्ने धारणा राखे ।

नेपाल चीन विद्यार्थी मञ्चका अध्यक्ष एवम् अनेरास्ववियु नेता उत्तम अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन मञ्चका महासचिव नरेश रेग्मीले गरेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्