महरालाई पुर्व सहकर्मीको चिठी




आदरणीय महरा सर !
क्रान्तिकाे फरक धारबाट न्यानो अभिवादन ।

तपाईंकाे राजनीतिक जिवनलाई रसातलमा पुर्याउने गरि तपाईं माथि लागेकाे चरित्रगत आराेपले आज अनुसन्धानका निम्ति पुरपक्षका लागि हिरासतमा राखिनु पर्दा म अत्यन्तै स्तब्ध र दु:खित भएकाे छु । म विगत सात बर्षदेखि तपाईं बाट अलग धारकाे पार्टीमा छु । तथापि तपाईंलाई म आदर र सम्मान नै गर्दथें, गर्छु पनि । तपाईंसँग जाेडिएकी पात्रलाई म तपाईंलाई जत्तिकै नजिकबाट चिन्दछु र जान्दछु पनि । पार्टीमा तपाईंको छवि, व्यक्तित्व, र पटकपटक तपाईंले प्राप्त गरेकाे सत्ता सुविधाबाट तपाईंकै पार्टीका र तपाईंका छेउछाउकै नेताहरु डाहा र आरिसले चिढिएका थिए । यतिबेला तपाईं हिरासतकाे छिंडी बाट संसदीय राजनीतिकाे घिनाैना खेललाई गाैरले चियाईहँदा बाहिर तपाईंका बिराेधीहरुले ककटेल मनाईरहेका हाेलान् भन्ने म ठान्दछु ।

याे केसमा सत्यता के कति छ त्याे तपाईं र सम्वन्धित महिलालाई नै थाहा हाेला । बाँकी अरुले त अनुमानमै तिर चलाउने हुन् । केही न केही कमजोरी त तपाईंबाट भयाे हाेला भन्ने म ठान्छु । हावा नचली पात हल्लिँदैन भन्ने नेपाली उखान नै छ । मन्द हावा चलेकाे कुरा तपाईंका धुरी भित्रका बैरिहरुले थाहा पाए हाेलान् अनि पात हल्लिने माैका छाेपेर डाेजर चलाइदिए र रुखै उखेलिदिए ।

सुन्छु यतिबेला तपाईंकै पार्टीका भित्रीनी पट्टीका दाैतरीले पार्टीको एउटा सिण्डिकेट ढल्याे भन्दै खुसि मनाउँदै छन् रे । जनयुद्धलाई प्रचण्ड बाबुरामले संसदवादमा सट्टेबाजी लगाए पछि तपाईंले पद, प्रतिष्ठा, लाभ र सुखसुविधाका निम्ति जसरी उनिहरुकाे सति जानुभयो त्यसको परिणाम आज हिरासत बसेर (जेल पनि हुन सक्छ) भाेग्दै हुनुहुन्छ । किनकि याे व्यवस्थाकाे राजनीतिमा मान्छेलाई “युज एण्ड थ्राे” गर्ने नै हाे । कर्मचारीबाट करिव बीस कराेड चन्दा उठाएर सबै रकम प्रचण्डलाई पुर्‍याउन तपाईं प्रयाेग हुनुभयो । माधव नेपालकाे सरकार ढाल्न सांसद खरिदका लागि चिनियाँ ब्यापारीबाट पचास कराेड चन्दाकाे बार्गेनिङ गर्न तपाईं प्रयाेग हुनुभयो । यद्यपि उक्त रकम प्राप्त त भएन अनाहकमा तपाईं बद्नामित हुनु पर्याे । देउवासँग मिलेर सरकार बनाउने लविङ गर्न प्रचण्ड दूत बनेर दक्षिणी प्रभुका द्वार खटखटाउन तपाईं नै प्रयाेग हुनुभयो । चुनवाङकाे बैठक पूर्व कारवाहीमा परेका बाबुरामलाई बाेकेर प्रचण्डको दूत बनेर दक्षिणी प्रभुका दूतहरुकहाँ संसदवादकाे भीख माग्न तपाईं प्रयाेग हुनुभयो । तपाईंकै राेहवरमा प्रचण्ड बाबुरामले ब्युराेक्र्याट मार्फत दक्षिणी सरकारलाई बुझाएको बिन्तिपत्र एसडिमुनीले सार्वजनिक नै गरेका थिए । प्रचण्ड र सुमार्गिजाेड्ने पुल तपाईंनै हुनु भयाे, पछि उनिहरुकाे लगनगाँठाे बलियाेसँग बाँधिएपछि तपाईं आउट हुनुभयो । यस्ता घटना त अनगिन्ती छन्, तपाईं प्रयाेग भएका ।

जनयुद्धलाई धनयुद्धमा परिणत गरेपछि माउखाने राजनीतिकाे शिकार हुने कुरा अनाैठा र उल्काकाे विषय नै हैन । तपाईंमाथिको आरोप, आरोप जत्तिकै सत्य हाे भने यसले तपाईंलाई मृत्युपर्यन्त खेदिरहने छ । यदि सामान्य कमजोरी हाे भने तपाईंले पर्दा पछाडिको षड्यन्त्रको पर्दाफास् गर्नै पर्छ । आफ्नो टाउकाे जल्दा मितकाे टाउकाे बचाउनु जरुरी छैन । किनकि तपाईंले अङ्गालेकाे राजनीति सर्वहारा वर्गीय राजनीति हाेईन । बुर्जुवा राजनीतिमा जसरी तपाईंका आफ्नै दाैंतरी बैरी बनेर खडा भए त्यसको जवाफ त्यसैगरी दिनुपर्ने हुन्छ । अर्को विकल्प भनेको तपाईंले जनयुद्ध प्रति गरेको घातकाे हिस्सेदारी लिंदै अहिलेसम्म गरेकाे बुर्जुवा राजनीति प्रति पश्चाताप गरेर आत्म समीक्षा गर्दै क्रान्तिकारी पार्टी र आन्दोलनमा जाेडिने कुरा हाे ।

तपाईंको याे घटनाले दुईवटा गम्भीर विषय उजागर गरेकाे छ । तपाईंको अाफ्नै गल्ती हाे भने त्यसकाे भागिदार तपाईं मात्रै हुनुहुने छ । यदि तपाईंको सामान्य असावधानीकाे कमजोरी मात्रै हाे भने अब जनयुद्धबाट आएका कुनै पनि नेता सकुशल रहन सक्ने छैनन् । विभिन्न बहानामा क्रमशः सबैलाई यसैगरी सिध्याउने खेल हुने छ । नत्र तपाईंलाई जुन प्रकारकाे चरित्रगत आराेप लागेको छ, त्यस प्रकारका चरित्रमा दाग लागेका तपाईंको पार्टीमा दर्जनौं नेता छन् । जसलाई मैले मात्रै हैन धेरै नेपालीले जान्दछन् । उनिहरुले यस प्रकारको सजाय भाेग्नु नपर्ने तपाईंले मात्रै भाेग्नु पर्ने भनेको तपाईंलाई सिध्याउने डिजाइन रहेछ भनेर बुझ्नुपर्छ । संसदीय बुर्जुवा व्यवस्थामा सुरा, सुन्दरी, भ्रष्टाचार, शाेषण, उत्पीडन, छिड्कि हान्ने खेल त्याे व्यवस्थाकाे अनिवार्य र सुन्दर पक्ष नै हाे । पद, पैसा र प्रतिष्ठाकाे तामसी रसले सबैलाई यसैगरी मदहाेस् बनाउँछ र लठ्याएर सिध्याउँछ । यसबाट वच्न चतुर, ध्रुत, साम दाम दण्ड भेद जानेकाे, अगाडि पछाडि ब्याकफाेर्स भएकाहरु मात्रै यसबाट बचेर पछिसम्म सत्तामा टिक्न सक्छन् । यदि तपाईं याे केसमा परेकै हाे भने तपाईं चतुर्‍याइँ गर्न सक्नु भएन । जसले तपाईंलाई राजनीतिबाटै हात धुनुपर्ने अवस्थामा पुर्यायाे । तपाईंलाई फसाइएकाे हाे भने तपाईंले क्रान्तिकारी बाटो राेज्नै पर्छ । म आसा गर्छु कि तपाईंको याे आरोप मिथ्या सावित हाेस् र क्रान्तिकाे नयाँ माेर्चामा हामी एकसाथ रहाैं । आगे तपाईंको मर्जी ।

उहीँ तपाइँबाट ऐनमाैकामा उपेक्षित पात्र, तपाईंको दुःखी ।

(अग्रज साहित्यकार हिरामणि दुखी इच्छुक साँस्कृतिक प्रतिष्ठानको अध्यक्ष हुन् ।)

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्