डडेल्धुराबाट शुरु गरे डा केसीले १७ औं अनसन



चिकित्सा शिक्षा सुधारका अभियान्ता डा गोविन्द केसीले आफ्नो १७ औं अनसन सुदूरपश्चिमको पहाडी जिल्ला डडेल्धुराबाट शुरु गरेका छन् ।

डा. केसीले पत्रकार सम्मेलन गरी सोमबारदेखि डडेल्धुरामा अनसन शुरु गरेका हुन् । चिकित्सा शिक्षासहित संक्रमणकालीन न्यायसँग सम्बन्धित विषयमा आफ्ना ५ बुँदे माग अगाडि सारेका केसीले सरकार आफ्ना मागप्रति उदासिन रहेको भन्दै अनसन बस्नका लागि डडेल्धुरा पुगेका हुन् ।

केसीले डडेल्धुरा सदरमुकाम अमरगढीको अस्पताल रोडमा रहेको एउटा निजी क्लिनिक रहेको घरमा अनसन शुरु गरेका हुन् । डा. केसीले निर्मल क्लिनिक सञ्चालनमा रहेको घरको दोस्रो तलको एउटा कोठामा अनसन शुरु गरेका छन् ।

डा. केसीको अनसनका लागि स्थानीय स्तरमा व्यवस्थापन गरिएको उनका सहयोगीले बताएका छन् । डा. केसीले आफ्ना ६ बुँदे मागका अतिरिक्त डडेल्धुरा अस्पतालमा रिक्त रहेका दरबन्दी तत्काल पूर्ति हुनुपर्ने र डोटी या डडेल्धुरामा मेडिकल कलेज खोलिनुपर्ने थप २ माग पनि अगाडि सारेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्