फेरि स्थगित भयो नेकपा स्थायी कमिटी बैठक , अब अर्को बैठक कहिले ?



काठमाडौं। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटीको बैठक पुनस् स्थगित गरिएको छ।

बैठक पर्सि, २६ असार बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको नेकपाका प्रचार विभाग उपप्रमुख तथा प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

स्थायी कमिटी बैठक आज ११ बजे बालुवाटारमा बस्‍ने कार्यतालिका थियो। यसअघि २२ असारमा तय गरिएको बैठक आजसम्मका लागि स्थगित गरिएको थियो।

१० असारबाट शुरू नेकपा स्थायी कमिटी बैठक पार्टीको आन्तरिक विवादका कारण १९ असारयता बस्न सकेको छैन। बैठककै बीच दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच अन्तरसंघर्ष बढेपछि नेकपाभित्रको विवादले नयाँ मोड लिएको छ।

अध्यक्ष दाहालले अर्का अध्यक्ष ओलीलाई प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजीनामा दिन भनेका छन्। दाहाललाई वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल र उपाध्यक्ष बामदेव गौतमले समेत साथ दिएका छन्।

विवाद सुल्झाउन नेताहरूबीच एक्लाएक्लै र सामूहिक रूपमा चरण(चरणमा छलफल भइरहेको छ। विवादलाई समाधान गरी पार्टीलाई एक ढिक्काका साथ अगाडि बढाउन दोस्रो र तेस्रो तहका नेताहरूले शीर्ष नेतृत्वलाई दबाब दिइरहेका छन्।

पार्टी एकतालाई जोगाइराख्न र असमझदारीहरू हटाउन समाधानका उपायको खाका तयारीका लागि नेताहरू विष्णु पौडेल, शंकर पोखरेल, जनार्दन शर्मा र वर्षमान पुनलाई जिम्मेवारी दिइएको छ।

यसबीचमा अध्यक्षद्वयबीच वान अन वान छलफलहरू भइरहेका छन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्