तनहुँका ट्राफिक प्रहरीले नमस्कार गर्न थाले



दमौली । जिल्ला ट्राफिक कार्यालय तनहुँले चालक र आम नागरिकलाई मङ्गलबारदेखि नमस्कार अभियान थालेको छ । आम नागरिकसँगको सम्बन्धलाई प्रगाढ बनाउन शिष्टता र सभ्यतालाई अनुसरण गर्दै ट्राफिक प्रहरीको सेवा प्रवाहलाई सभ्य र राम्रो बनाउने उद्देश्यले नमस्कार अभियान थालिएको हो ।

पृथ्वी राजमार्ग अन्तर्गत व्यास नगरपालिका–१२ स्थित घाँसीकुवामा सवारी जाँच गर्दै उक्त अभियान शुरु गरिएको जिल्ला ट्राफिक कार्यालय तनहुँका इन्चार्ज रेशमबहादुर रानाभाटले जानकारी दिए । प्रदेश ट्राफिक कार्यालयको निर्देशनमा गण्डकी प्रदेशका ११ वटै जिल्लामा निर्देशन भइसकेको उनले बताए । उक्त निर्देशन जारी भएपछि अधिकांश जिल्लाले यस अभियानलाई व्यवहारमा लागु गरिसकेको उनले जानकारी दिए ।

यस अभियान अन्तर्गत जाँचचौकी, सीमानाका र कार्यालयमा बसेर सेवा प्रदान गर्ने ट्राफिक प्रहरी, कर्मचारीले सेवाग्राहीलाई आदारयुक्त सम्बोधनसहित नमस्कार गर्दै तोकिएको कानुन बमोजिमको काम सम्पन्न गरी अन्त्यमा पुनः नमस्कार गरेर बिदाइ गर्नुपर्ने प्रावधान रहेको छ । ट्राफिक प्रहरीले नागरिकमाथि हुने गरेको दुव्र्यवहारको आरोपलाई चिर्दै उनीहरुको आचरणमा फरकपन दिनका लागि यो अभियान थालिएको हो ।

नागरिकप्रति उत्तरदायी भएर आफ्नो भूमिका निर्वाह गर्न तनहुँका ट्राफिक प्रहरी प्रतिबद्ध रहेको उनले बताए । चालक र नागरिकलाई शिष्टाचार व्यवहार गर्ने अभियान थालेको पहिलो दिनमै २० हजार ५०० राजश्व सङ्कलन भएको छ । करिब डेढ घण्टाको अवधिमा सवारी जाँच गर्दा २५ विभिन्न सवारीलाई कारवाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

ट्रक, जिप, मोटरसाइकल, ट्रर्याक्टर लगायतका सवारी साधनले ट्राफिक नियमविपरीत सवारी साधन चलाएको भेटिएकाले कारबाही गर्दा सो रकम सङ्कलन भएको जिल्ला ट्राफिक कार्यालय तनहुँका इन्चार्ज रानाभाटले बताए । यस अभियानलाई निरन्तरता दिई सवारी जाँचलाई कडाइ गर्दै अघि बढ्ने योजना रहेको उनले जानकारी दिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्