नेकपाका तीन नेताले पाए कार्यवाहक जिम्मेवारी, अध्यक्षमा को ?



सैघाली खबर, ५ असार ।
प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले तीन नेतालाई फरक–फरक मोर्चाको कार्यवाहक प्रमुखको जिम्मेवारी दिएका छन् । अध्यक्ष ओली चीन भ्रमणमा र अर्का अध्यक्ष प्रचण्ड पनि सिंगापुरमा रहेकाले तीन नेताले कार्यवाहकको जिम्मेवारी पाएका हुन् । नेकपाका महासचिव विष्णु पौडेलका अनुसार नेकपाको कार्यवाहक अध्यक्ष बरिष्ठ नेता माधवकुमार नेपाल बनेका छन् ।

अर्का अध्यक्ष प्रचण्ड पनि नभएकाले पार्टीमा ओली र प्रचण्डपछि तेस्रो बरियतामा रहेका बरिष्ठ नेता नेपाललाई कार्यवाहक अध्यक्ष बनाइएको हो । प्रचण्ड पत्नी सीता दाहालको उपचारका सिलसिलामा सिंगापुरमा छन् । २०६४ सालको निर्वाचनमा पार्टीको पराजयपछि महासचिव पदबाट राजिनामा दिएका नेपालले त्यसपछि पार्टी प्रमुखको जिम्मेवारी सम्हालेको यो पहिलो हो ।

उनी १४ वर्ष नेकपा एमालेको नेतृत्व गरेपछि बरिष्ठ नेताको हैसियतमा थिए । यसबीचमा झलनाथ खनाल र केपी ओली अध्यक्ष भएका बेला कार्यवाहक जिम्मेवारी बामदेव गौतम र अशोक राईले पाउने गरेका थिए । ओलीले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेललाई दिएका छन् ।

मन्त्रिपरिषदमा प्रधानमन्त्रीपछिको दोस्रो बरियतामा रहेका उपप्रधानमन्त्री पोखरेल यसअघि ओली भारत भ्रमणमा जाँदा पनि कार्यवाहक प्रधानमन्त्री थिए । महासचिव पौडेलका अनुसार नेकपा संसदीय दलको कार्यवाहक नेताको जिम्मेवारी उपनेता सुवास नेम्वाङलाई दिइएको छ ।

संयोग नै मान्नुपर्छ ओली हिँड्दा कार्यवाहक पाउने तीनैजना नेता तत्कालिन एमालेका परेका छन् । कार्यवाहक अध्यक्ष नेपालले दुवै अध्यक्ष नभएको बेला पार्टी सन्चालनको नेतृत्व गर्नेछन् भने कार्यवाहक प्रधानमन्त्रीले प्रधानमन्त्रीको अनुपस्थितमा सरकार सन्चालन गर्नेछन् । संसदीय दलका कार्यवाहक नेता नेम्वाङले संसदीय फाँटका गतिबिधिको नेतृत्व गर्नेछन् ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्