पुषमा पानीजहाज चढ्न तयार हुनुस: प्रधानमन्त्री ओली



प्रधानमन्त्री केपी ओलीले पानीजहाज सञ्चालनको योजनाले छिटै साकार रूप लिन लागेको जानकारी दिँदै आलोचना गर्नेहरूलाई स्टिमर (पानीजहाज) चढेर कोलकात्तासम्म जान तयार रहन निम्ता दिएका छन् ।

‘रेलको कुरा गर्दा खेलौना बनाएर उडाउने, पानीजहाजको कुरा गर्दा बाल्टीमा पानी राखेर डुंगा चलाउने, अब हिँड्दाहिँड्दै हनुमाननगरबाट पानीजहाज चल्छ,’ आफ्ना सपनाको आलोचना गर्नेलाई चुनौती दिँदै प्रधानमन्त्रीले बिहीबार भने, ‘दुई वर्षअघि प्रधानमन्त्री हुँदा बोलेका कुरा सन् २०१८ सम्म भ्याइएन भने सन् २०१९ को पुस १६ लाग्ला । तर, स्टिमर (पानीजहाज) चढेर कोलकात्तासम्म जान निम्ता छ साथीहरूलाई ।’ आजको नयाँ पत्रिकामा समाचार छ

कुरा रेकर्डेड छन्, १० वर्षपछि मजाकको पात्र नबन्नुस्
‘ममाथिको आलोचना, टिप्पणी र विरोधको जहिले पनि स्वागत गर्छु । तर, उहाँहरूलाई एउटा सुझाब पनि दिन चाहन्छु– मिडियाको जमानामा तपाईंहरूले बोलेका कुरा इतिहासमा रेकर्डेड छन् । याद गरिराख्नुस्, १० वर्षपछि तपाईंलाई दुनियाँले मजाकको पात्र नबनाओस्,’ प्रधानमन्त्री ओलीले भने ।

विकास र समृद्धिको योजनाको कुरा गर्दा मजाक उडाइएको भन्दै ओलीले महाथिरले मलेसियामा राजधानीबाट ८० किमी टाढा विमानस्थल बनाउने र ट्विनटावर बनाउने कुरा गर्दा पनि त्यस्तै मजाक गरिएको उदाहरण पेस गरे । ‘तर, अहिले त्यही ट्विनटावर संसारकै पयर्टकीय र व्यापारिक केन्द्र बनेपछि सबैले महत्व बुझे,’ प्रधानमन्त्रीले भने ।

दुर्गमका बस्ती सारेर एकीकृत  बस्ती कार्यक्रम
प्रधानमन्त्री ओलीले सरकारले छिटै अति दुर्गमका बस्तीहरू सारेर एकीकृत बस्ती निर्माणको कार्यक्रम सुरु गर्न लागेको जानकारी पनि दिए । ‘जहाँ विकास गर्न सकिन्छ, त्यहाँ अति दुर्गमका बस्ती उठाएर एकीकृत बस्ती निर्माणको काम सुरु गरिनेछ,’ प्रधानमन्त्री ओलीले भने, ‘कसरी आउँछ समाजवाद ? हो त्यसरी आउँछ, दुर्गमबाट सुगमतिर आउँछ, समाजवाद भनेको समृद्धि हो, कृषिको आधुनिकीकरण र व्यवसायीकरण हो ।’

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्