उपप्रधानमन्त्री पोखरेलसंग जापानी राजदूतको भेटवार्ता



काठमाडौँ, २८ असार  ।  नेपालस्थित जापानी राजदूत मासामिची साइगोले उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलसंग आज शिष्टाचार भेटघाट गर्नुभएको छ ।

रक्षा मन्त्रालयमा भएको भेटघाटमा उहाँहरुबीच नेपाल र जापानबीचको कूटनीतिक सम्बन्ध, सरकारका कार्ययोजना, आर्थिक र सामाजिक विकास, दुई मुलुकका बीचको सैन्य तालीम तथा सहकार्य एवं प्रविधि हस्तान्तरणलगायत विषयमा छलफल भएको मन्त्रालयका प्रवक्ता ऋषि राजभण्डारीले जानकारी दिनुभयो ।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री पोखरेलले नेपाल र जापानबीच औपचारिकरुपमा कूटनीतिक सम्बन्ध स्थापना हुनुभन्दा अगाडिदेखि नै बुद्ध धर्मप्रतिको भावनात्मक एकताले दुई देशबीचको सम्बन्ध महत्वपूर्ण रहेको उल्लेख गर्दै नेपाल लामो संक्रमणपछि विकास र स्थायित्वतर्फ अघि बढिरहेको भन्दै विगतमा जस्तै आगामी दिनमा पनि जापानको सहयोग निरन्तर हुनुपर्ने बताउनुभयो ।

उहाँले सरकार आफ्नो नीति, कार्यक्रम तथा संरचनालाई व्यवस्थित गर्दै अघि बढिरहेको र आर्थिक विकासमा आफ्नो ध्यान केन्द्रित गरिरहेको बताउनुभयो ।

लामो समयदेखि दुई देशबीच उच्चस्तरीय भ्रमण नभएको उल्लेख गर्दै उहाँले दुवै देशबीच उच्चस्तरीय राजनीतिक भ्रमणको आदानप्रदान गर्नुपर्ने धारणा राख्नुभयो ।

नेपाली सेनाले विश्व शान्तिको क्षेत्रमा महत्वपूर्ण योगदान गरिरहेको बताउँदै आगामी दिनमा दुई देशबीच पारस्परिक सैनिक तालीम सञ्चालन गर्न सकिनेसमेत उहाँले बताउनुभयो ।

मन्त्री पोखरेलले नवनियुक्त राजदूत मासामिची साइगो कृषि विज्ञ भएको भन्ने आफूले जानकारी प्राप्त गरेको भन्दै नेपालको कृषिको आधुनिकीकरण र विकासका निम्ति राजदूतको विज्ञताको उपयोग गर्न चाहेको बताउनुभयो ।

सोही अवसरमा उहाँले हालै जापानमा भएको प्राकृतिक प्रकोपका कारण हुन गएको जनधनको क्षतिप्रति समवेदना प्रकट गर्नुभयो ।

भेटमा राजदूत साइगोले नेपाल र जापानबीच रहेको घनिष्ट सम्बन्ध अझ गहिरो र फराकिलो बनाउँदै लैजाने बताउनुभयो ।

उहाँले नेपाल र जापानबीचको अनुपम सम्बन्ध अतुलनीय भएको र दुई मुलुकबीचको आपसी सहयोग आगामी दिनमा समेत निरन्तर रहिरहने बताउनुभयो ।

नेपालले तीन तहका निर्वाचन निष्पक्ष र पारदर्शिताका साथ सम्पन्न गइसकेको अवस्थामा अब वर्तमान सरकारको नेतृत्वमा नेपाल आर्थिक तथा सामाजिक विकासतर्फ अगाडि बढ्नुपर्ने बताउनुभयो ।

राजदूत साइगोले नेपालको विकासका लागि जापान सदैव सहकार्य गर्न तत्पर रहेको भन्दै रक्षा क्षेत्रमा आगामी दिनमा के गर्न सकिन्छ भन्नेबारेमा योजना बनाएर छलफल गर्न सकिने बताउनुभयो ।

शिष्टाचार भेटमा मन्त्रालयका सहसचिव तथा प्रवक्ता राजभण्डारी, जापानी दूतावासका उच्च अधिकारी तथा परराष्ट्र मन्त्रालयका प्रतिनिधिसमेतको उपस्थिति थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्