भोली २ देखि दाङ प्रशासन शनिबार पनि खुल्ला हुने



दाङ, १ भदौ–जिल्ला प्रशासन कार्यालय दाङले अब शनिबारको दिन पनि सेवा दिने भएको छ। सेवाग्राहीको सहजताको लागि शनिबार पनि सेवा दिने जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ।

गतवर्ष दशैं बिदामा समेत कार्यालय सञ्चालन गरेको कार्यालयले त्यसको प्रभावकारितालाई ध्यानमा राखेर शनिबार समेत कार्यालय खोल्ने तयारी गरेको हो।

टाढा–टाढाबाट आउने सेवाग्रही र हप्ताको ६ दिन व्यस्त हुनेहरुको लागि शनिबारको सेवा प्रभावकारी हुने प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले बताए। ‘सरकारी कर्मचारी, व्यापारी लगायतका व्यक्तिहरु आफ्नै प्रशासनिक काम गर्न गराउन नभ्याउने हुन्छन्, त्यसैले शनिबार पनि कार्यालय खुल्ला गरे त्यस्ता नागरिकलाई सजिलो होला भनेर यस्तो निर्णय गरेका हौं’, प्रजिअ श्रेष्ठले भने, ‘गत वर्ष दशैं बिदामा कार्यालय खोल्दा पाएको सकारात्मक टिप्पणीले शनिबार पनि सेवा दिनुपर्छ भन्ने उत्साह जागेको हो।’

शाखा अधिकृतसहित ४ जना कर्मचारीले आगामी शनिबार (भदौ २ गते) ११ बजेदेखि दिउँसो २ बजेसम्म सेवा दिने तयारी भएको छ। ‘शाखा अधिकृत, कम्प्यूटर अपरेटर र अन्य दुई जना गरी ४ जनाले आलो–पालो गरी सेवा दिने तयारी गरेका छौं, सबै कर्मचारीबीच सल्लाह भएको छ, अतिरिक्त आर्थिक भार नपर्ने गरी काम गर्न सबै सहमत भएका छौं।’

शनिबारीय सेवामा मुद्दाको कामबाहेक अन्य सबै काम हुने भएकाले सेवाको लाभ लिन प्रमुख जिल्ला अधिकारी श्रेष्ठले सर्वसाधारणमा अपिल गरेका छन्।

यस्तो सेवावाट व्यापारी, कर्मचारी र हप्ताभरी नै व्यस्त हुनेहरु लाभान्वित हुने छन् भने शनिबार सेवा दिने सरकारी कार्यालयमा जिल्ला प्रशासन कार्यालय दाङ पहिलो र एक मात्र कार्यालय हुनेछ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्