राष्ट्रियसभा समितिका चार सभापतिको टुंगो



नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले राष्ट्रियसभा अन्तर्गतका समितिका सभापतिको नाम लगभग टुंगो लगाएको छ।

राष्ट्रियसभामा रहेका चार समितिको सभापति चयनका लागि १३ गते निर्वाचन हुँदैछ।

स्रोतका अनुसार विधायन व्यवस्थापन समितिमा परशुराम मेघी गुरुङ सभापति बन्नेछन्। जनजातिलाई समेट्न र पूर्वबाट प्रतिनिधित्व गराउन गुरुङलाई चयन गरिएको स्रोतले बतायो।

त्यस्तै, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको सभापति राम नारायण बिडारी बन्ने भएका छन्। स्रोतका अनुसार उनको नाममा सहमति भैसकेको छ। बिडारीले पार्टी नेतृत्वले आफ्नो नाममा सहमति जनाएको सेतोपाटीलाई बताए।

‘माथिबाट हुन्छ भनिएको छ’, बिडारीले भने, ‘अब १२ गते मनोनयन छ। त्यतिबेला नै के होला भन्न सकिन्छ।’

बिडारीलाई समेट्दा मुलुकको मध्यक्षेत्र समेटिने भएकाले उनको नाममा सहमति जुटेको नेकपाका एक नेताले बताए।

राष्ट्रिय सरोकार तथा समन्वय समितिको सभापति दिलकुमारी थापा रावल (पार्वती) बन्ने भएकी छिन्।

समितिहरू सभापतिमा महिलाको सहभागिताका लागि रावललाई सभापति बनाउने निर्णय भएको स्रोतले बतायो। चितवनमा पटक/पटक तत्कालीन कांग्रेस सभापति सुशील कोइरालासँग चुनाव लडेकाले पनि आफूलाई अहिले राष्ट्रिय सभामा मौका दिनुपर्ने उनको भनाइ छ।

दीगो विकास तथा सुशासन समितिको सभापति भैरवसुन्दर श्रेष्ठ बन्ने भएका छन्। स्रोतका अनुसार उनको नाम टुंगो लागिसकेको छ।

जाजरकोटाका श्रेष्ठ नेकपाको केन्द्रीय सदस्य हुन्। श्रेष्ठलाई सहभागी गराएर पिछडिएको क्षेत्र समेट्ने तयार नेकपाले गरेको हो।

राष्ट्रियसभामा नेकपाका संसदीय दलका नेता दीनानाथ शर्माले नामहरू चर्चामा रहे पनि टुंगो नलागेको बताए।

‘पार्टी नेतृत्वले अन्तिम टुंगो गर्छ’, शर्माले भने, ‘साथीहरूको दाबी स्वभाविक हो।’

राष्ट्रियसभाका समितिमा निर्वाचित हुने सभापतिहरूले राज्यमन्त्री सरह सेवा सुविधा पाउने छन्। गाडी, सचिवालय र सुरक्षा सहयोगी समेत सभापतिहरूले पाउनेछन्।

राष्ट्रिय सभामा सत्तारुढ नेकपाको दुई तिहाइ बहुमत छ। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले समिति सभापति दाबी गरे पनि नदिने निष्कर्षमा नेकपा पुगिसकेको छ।setopati

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्