पार्टी एकता – पूर्व एमालेका नेता नेपाल असन्तुष्ट समानान्तर कमिटी गठनको तयारी



काठमाण्डौ ११ भदौ । नेपाल कम्युनिस्ट पार्टी नेकपा को प्रदेश र जिल्ला एकता नटुंगिँदै एकीकरण कार्यदलको सिफारिसप्रति पूर्वएमालेमा असन्तुष्टि चुलिएको छ । पूर्वएमालेभित्र फरक समूहको प्रतिनिधित्व गर्ने वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले नेतृत्वका लागि सिफारिस नाममा पुनर्विचार नभए समानान्तर प्रदेश र जिल्ला कमिटी बनाएर अघि बढ्ने निष्कर्ष निकालेको हो । आइतबार नेपालसहित उनीनिकट केही नेताको गोप्य बैठक भएको थियो ।

प्रदेश ५ का नेपालको शुन्य सहभागिता
१२ जिल्लाको अध्यक्ष र सचिवसहित २४ पदाधिकारी बाँडफाँडमा पूर्वएमालेको भागमा ७ अध्यक्ष र ५ सचिव परेकोमा आफ्नो समूहबाट एकजनालाई पनि नपारिएको भन्दै नेपाल समूह बढी आक्रोशित छ । पूर्वएमालेका तर्फबाट कार्यदल सदस्य रहेका मुख्यमन्त्री शंकर पोखरेल र केन्द्रीय सदस्य दलबहादुर रानाले जिल्ला तहमा कुनै परामर्श नै नगरी जिल्लैपिच्छे फरक मापदण्ड लागू गर्दै पूर्वाग्रही सिफारिस गरेको नेपाल समूहको निष्कर्ष छ । सिफारिसलगत्तै शीर्ष नेताहरूको घरदैलोमा लबिङ गरिरहेका नेपालनिकट असन्तुष्ट नेताहरूले उजुरीसमेत दिएका छन् ।

 

प्रदेश ५ अन्तर्गत अर्घाखाँचीमा अध्यक्ष सांसदमा निर्वाचित भएकाले वरिष्ठतामा अगाडि रहेका कार्यबाहक अध्यक्ष जीवनारायण कोइराला, सचिव रामबहादुर चौहान, उपसचिव प्रेमनारायण गैरेलाई पन्छाएर पीताम्बर भुसाललाई अध्यक्षमा सिफारिस गरिएको असन्तुष्टको आरोप छ ।
पाल्पामा पनि अध्यक्ष र सचिव जनप्रतिनिधिमा निर्वाचित भएकाले उपाध्यक्ष मोहन थापामगर, उपसचिव कमल पाण्डेलाई पन्छ्याएर पूर्वअध्यक्ष राधाकृष्ण कँडेलको नाम सिफारिस गरिएको आरोप छ ।

दाङमा बहालवाला जिल्ला अध्यक्ष टीकाराम खड्काको सट्टा पदाधिकारी नै नरहेका सदस्य शिव आचार्यलाई अध्यक्षमा सिफारिस गरिएको र महासचिव विष्णु पौडेलको गृहजिल्ला रुपन्देहीमा उपाध्यक्ष पुरुषोत्तम घिमिरेलाई पन्छ्याएर गोपाल भट्टराईको नाम सिफारिस गरिएको नेपाल पक्षको आरोप छ । आफ्नो समूह अध्यक्ष बन्ने जिल्लामा वरीयता मिचिए पनि संस्थापनको अध्यक्ष रहेको कपिलवस्तुमा झविलाल पोखरेल, प्युठानमा तुलसीराम शर्मा तथा गुल्मीमा अध्यक्ष, उपाध्यक्ष र सचिव जनप्रतिनिधि बनेकाले आफ्नै समूहका उपसचिव बालकृष्ण काउछाको नाम अध्यक्षमा सिफारिस गरेको नेपाल पक्षको आरोप छ ।

यस्तै, पूर्वएमालेको सचिव भागमा परेका जिल्ला बाँकेमा अध्यक्ष, उपाध्यक्ष र सचिवलाई पन्छ्याएर जुनियर सदस्य गोपाल गिरीलाई अघि सारिएको असन्तुष्टहरूको आरोप छ । तर, कार्यदल सदस्य दलबहादुर रानाले पद पाउने सम्भावना नभएपछि अवसर नपाउनेहरू संगठित भएर असन्तुष्टि जनाएको हुन सक्ने बताए ।

‘हामीले तल सबैसँग परामर्श गर्न समय पुग्ने कुरा भएन, सम्बन्धित जिल्ला इन्चार्ज र अध्यक्षले परामर्श गरेर ल्याउनुस् भनेका थियौँ,’ रानाले भने, ‘आफूले पदीय जिम्मेवारी पाए हुन्थ्यो भन्ने साथीहरूको आकांक्षा हुनु स्वाभाविक हो, तर हामीले दुवैतर्फ मिलाउनुपर्ने भएकाले थुप्रै नेतृत्वको आकांक्षी साथीहरू छुट्नुभएको छ, संख्याको सीमाले गर्दा कति साथीहरू पर्न सक्नुभएन होला ।’ प्रदेश ५ को अध्यक्षमा कार्यदलले पूर्वएमालेबाट दलबहादुर राना र पूर्वमाओवादीबाट गणेशमान पुनको नाम सिफारिस गरेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्