अब नेपालमै बन्ने छन् चारपांग्रे सवारी



काठमाडौं । सरकारले नेपालमै चारपांग्रे सवारीको एसेम्बलिङ प्लान्ट राख्न विदेशी लगानी स्वीकृत गरेको  छ । शुक्रबार बसेको लगानी बोर्डको बैठकले कोरियन कम्पनी मोट्रेक्सले नेपालमा ल्याउन लागेको १० अर्ब बढीको लगानी स्वीकृत गरेको हो ।

कोरियन कम्पनीले १० अर्ब ५४ करोड खर्चेर ‘भेहिकल एसेम्बलिङ प्लान्ट’ निर्माण गर्ने प्रस्ताव बोर्डा समक्ष गरेको थियो । शुक्रबार साँझ प्रधानमन्त्रीको अध्यक्षमा बसेको बोर्ड बैठकले यो लगानीलाई स्वीकृत गर्ने निर्णय गरेको प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले जानकारी दिए ।

यसअघि नेपालमा गोल्छा समूहको हुलास मोटर्सले चारपांग्रे सवारीको एसेम्बलिङ गरेको थियो । हाल साे कम्पनीबाट गाडीको उत्पादन बन्द भइसकेको छ । यही कम्पनीले बनाएको मुस्ताङ ब्राण्डको सो गाडी तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले प्रयोग गरेका थिए ।

त्यसअघि कम्पनीले ‘शेर्पा’ नामको गाडी नेपालमै एसेम्बल गरेको थियो । तर, यूरो ३को मापदण्ड लागू हुनासाथ तयारीका लागि एक वर्षको समय माग्दा सरकारले नदिएपछि कम्पनी बन्द भएको थियो ।

नेपालमा हाल दुई पांग्रे गोल्छा समूहकै अगुवाईमा बजाजका केही बाइकहरु एसेम्बलिङ हुने गरेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्