संघको निर्णय नमान्ने मेनपावर कम्पनीलाई कार्वाही हुन्छः रोहन गुरुङ



–सैघाली खबर–

काठमाडौं । वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङले संघको निर्णय नमान्ने मेनपावर कम्पनीहरुलाई कार्वाही गरिने चेतावनी दिएका छन् ।

सरकारले आफ्ना जायज माग पुरा नगरेको भन्दै वैदेशिक रोजगार व्यवसायी संघले यही जेठ १७ गतेदेखि एक हप्तासम्म वैदेशिक रोजगारीमा जाने नेपाली कामदार विदेश नउडाउने विषयमा गरेको निर्णय पालना नगर्ने मेनपावर कम्पनीहरुलाई कार्वाही गर्ने चेतावनी गुरुङको छ ।

संघमा आवद्ध मेनपावर कम्पनीहरुले १७ गतेदेखि कामदार नउडाएपछि मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन विमानस्थल सुनसान जस्तै भएको छ ।

संघको निर्णयलाई प्रायजसो वैदेशिक रोजगार व्यवसायीहरुले साथ दिई कामदार उडाउन टिकट नलिएका कारण खचाखच भीड हुने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान कक्ष गत शुक्रबार यता प्रायः सुनसान देखिन थालेको छ । प्रस्थान कक्षमा फाटफुट्ट मात्र यात्रु देखिने गरेका छन् ।

संघका अध्यक्ष गुरुङका अनुसार गत जेठ ३ गते राजधानीको सामाखुशीमा भएको वृहत व्यवसायी भेलामार्फत व्यवसायीका ५ बुंदे माग पूरा नभएको खण्डमा जेठ १७ गतेदेखि २३ गतेसम्म वैदेशिक रोजगारमा जाने श्रमिकको उडान बन्द गर्ने निर्णय गरेको थियो ।

हाल दैनिक ७ सय नेपाली कामदार रोजगारी खोज्दै पहिलोपटक खाडीका विभिन्न मुलुक जाने गरेका छन् । सरकारले बन्द गरेका कारण आर्कषक गन्तव्य मलेसिया जाने कामदार भने विगत एकवर्ष अघिदेखि रोकिएका छन् । कामदार नउडाउने व्यवसायीको निर्णयले नेपाल उडान भर्ने एयरलाइन्स कम्पनीहरु बढी प्रभावित रहेको बताइएको छ । खाडी मुलुकमा काम गर्न जाने अधिकांश नेपाली कामदार नेपाल एयरलाइन्स र नीजि लगानीको हिमालय एयरलाइन्सका जहाजबाट गन्तव्य मुलुक पुग्ने गरेका छन् ।

यी हुन् संघका माग

  • वैदेशिक रोजगार ऐनमा आगामी भदौदेखि राख्ने नगद धरौटीको व्याज व्यवसायीले नै पाउनुपर्ने,
  • मर्जर हुने संस्थालाई उपयुक्त सुविधा दिनुपर्ने,
  • व्यवसायीले कामदार पठाएबापत पाउनुपर्ने सेवा शुल्क दक्षिण एसियाली मुलुक अनुसार हुनुपर्ने,
  • संघले श्रम, रोजगार तथा समाझिक सुरक्षा मन्त्रालयमा सुचिकृत भएका मेडिकल सेन्टरबाट स्वास्थ्य परिक्षण गरि मलेसियामा नयाँ कामदार पठाउने प्रक्रिया शुरु गर्नुपर्ने,
  • मागपत्र प्रमाणीकरण सहज बनाउन रोजगारदाता कम्पनीलाई यूजर नेम र पासवर्ड उपलब्ध गराई अनलाइन प्रणालीबाट मागपत्र प्रमाणीकरण गर्ने व्यवस्था गरी सहजता ल्याउनुपर्ने ।

व्यवसायीको विशेष भेलाबाट पारित यी मागहरु पूरा नभए कामदार उडाउन रोक्ने र त्यसपछि पनि समस्या समाधान नभए विरोध, संघर्ष र असहयोगका कार्यक्रम तय गर्नुपर्ने म्याण्डेट पारित भएको थियो ।

सरकारले तीन महिना भित्र सम्पूर्ण माग सम्बोधन नगरे सरकारविरुद्ध कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी व्यवसायीहरुले दिएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्