नेपाली कामदार अफ्रिकी मुलुकमा पनि पठाउने तयारी



काठमाडौँ । एकातिर प्रधानमनत्री स्वयंले कोही युवा पनि विदेशिनु नपर्ने भाषण गरिरहने र अर्कोतिर नयाँ नयाँ मुलुकसँग श्रम सम्झौता गरी कामदार विदेश पठाउने सरकारको नियत देखिन्छ । वैदेशिक रोजगारीलाई व्यवस्थित एवं विविधीकरण गर्ने भन्दै सरकारले पछिल्लो समय नयाँ गन्तव्य खोजिरहेको हो ।

यसै क्रममा दक्षिण अफ्रिकी मुलुक मौरिसससँग समेत श्रम सम्झौता गर्ने तयारी भइरहेको विशेष स्रोतबाट जानकारीमा आएको छ ।

नौ दिने युरोप भ्रमणका लागि प्रधानमन्त्री केपी शर्मा ओली शनिबार स्वीट्जरल्याण्डतिर प्रस्थान गर्नुभएको छ । उहाँ जेनेभामा यसैसाता हुने अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) को शतवार्षिकीकाे अवसरमा आयाेजित श्रम सम्बन्धी सम्मेलनमा सहभागी हुने कार्यक्रम छ । सोही क्रममा जेनेभामै संयुक्त अरब इमिरेट्स (युएई) र अफ्रिकी मुलुक मौरिससका प्रतिनिधिसँग श्रम समझदारी (एमओयू) समेत हुने जनाइएको छ ।

आइएलओको सो शतवार्षिकी समारोहमा सहभागी हुन आउने युएई र मौरिससका सम्बन्धित मन्त्रीसँग समझदारीपत्रमा हस्ताक्षर हुने कार्यक्रम तय भइसकेको स्रोतको भनाइ छ । स्रोतका अनुसार अफ्रिकी मुलुक मौरिसससँग यही जेठ २८ गते र युएईसँग जेठ ३१ गते श्रम समझदारी पत्रमा हस्ताक्षर हुनेछ ।

नेपालबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट र मरिससका श्रम, औद्योगिक सम्बन्ध, रोजगार तथा तालीममन्त्री सुदेश एस क्यालीचर्नबीच सो समझदारीपत्रमा हस्ताक्षर हुनेछ। त्यस्तै मन्त्री विष्ट र युएईका मानव संशाधनमन्त्री नासेर थानी अल हम्लीबीच पनि द्विपक्षीय श्रम समझदारीपत्रमा हस्ताक्षर हुने कार्यक्रम तय गरिएको मन्त्रालय स्रोतले जनाएको छ । दुवै मुलुकसँग हुन लागेको श्रम समझदारीका लागि सहमति भएर सोको मस्यौदा नेपाल सरकारले स्वीकृतसमेत गरिसकेको स्रोतको दाबी छ ।

मौरिसससँग हुने सम्झौतामा शून्य लागत, कानुनी उपचारका बेला अस्थायी भिसा पाउने, सबै सेवा शुल्क रोजगारदाताले नै बेहोर्ने गरी सम्झौता गरिने छ । जेनेभामा २ देशसँग हुने सम्झौतामा श्रमिकको सुरक्षाका लागि स्रोत मुलुक र गन्तब्य मुलुकका दुबै सरकार, रोजगारदाता, म्यानपावर र श्रमिकका भूमिका र सेवा शुल्क स्पष्टसँग किटान गरिएको छ । यूएईसँगको सम्झौतामा भिसा शुल्क, हवाई टिकट, मेनपावरको सेवा शुल्क, बिमा र मेडिकल लगायतका शिर्षकमा अतिरिक्त पैसा तिर्नु नपर्ने जनाइएको छ ।

सरकारले केही समयअघि मात्रै मलेसियासँग श्रमिक आपूर्ति सम्बन्धी जिटुजी सम्झौता गरिसकेको छ भने जापानमा नेपाली कामदार पठाउने सम्बन्धी श्रम समझदारीमा समेत हस्ताक्षर गरिसकेको छ ।  साभार news24

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्