२ घण्टाको अवधिमा छुट्टाछुट्टै सवारी दुर्घटनामा ५ को मृत्यु



काठमाडौं । करिब २ घण्टाको अवधिमा भएका ४ वटा छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ । आइतबार बेलुका १९ः३० बजेदेखि २१ः३० बजेको सो अवधिमा सिन्धुली, ललितपुर, उदयपुर र बाजुरामा भएका दुर्घटनामा ५ जनाको मृत्यु भएको हो ।

सिन्धुली, मरिण गाउँपालिका–२ मुङग्रेस्थित सडकमा अनटेस्ट लेखिएको ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही गाउँपालिका–४ मरुवा बस्ने २३ वर्षीय सुकमा जिम्वा र सोही गाउँपालिका–३ बस्ने १४ वर्षीय सागर माझीको घटनास्थलमै मृत्यु भएको छ । ट्याक्टर चालक हाल फरार रहेकोले प्रहरीले खोजी गरिरहेको छ ।

यसैगरी ललितपुर, ललितपुर महानगरपालिका–१४ एकान्तकुनास्थित सडकमा बा.८८ प ९७५० नम्बरको मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका पैदलयात्री काठमाडौं स्वयम्भू घर भई ललितपुर ग्वार्को बस्ने ४५ वर्षीय कृष्णवीर नकर्मीको विएण्डवि अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक काठमाडौं कीर्तिपुर नगरपालिका-३ बस्ने १९ वर्षीय बिराज श्रेष्ठको सोही अस्पतालमा उपचार भइरहेको छ ।

यसैगरी उदयपुर, कटारी नगरपालिका–११ स्थित सडकमा बा.३ ख ४१३० नम्बरको टिप्पर अनियन्त्रित भई सडकबाट करिब १ किलोमिटर तल खसेर दुर्घटना हुँदा टिपर चालक सोलु नेचा बस्ने सुजन भण्डारीको घटनास्थलमै भएको छ ।

यसैगरी बाजुरा, जगन्नाथ गाउँपालिका–१ पिलुचौरस्थित बजारमा भे.१ त ९४३१ नम्बरको ट्याक्टरको ठक्करबाट गम्भीर घाइते भएकी स्वामीकार्तिक गाउँपालिका–३ जुकोट घर भएका रेशम शाहीकी ९ वर्षीया छोरी प्रतिक्षा शाहीको प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारको क्रममा मृत्यु भएको छ । ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटना भएका सबै स्थानमा तत्काल खटिई गएको स्थानीय प्रहरीले उद्दार कार्य गर्नुका साथै दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्