एमाले र माओवादीको चुनावी तालमेलको घोषणा आज



 

काठमाण्डौ १७ असोज । नेकपा एमाले र एकीकृत नेकपा माओवादीबीच चुनावी तालमेलसँगै पार्टी एकता गर्ने सहमति भएको छ । सहमतिको औपचारिक घोषणाका लागि ५ बजे राष्ट्रिय सभागृहमा संयुक्त पत्रकार सम्मेलन राखिएको छ ।

 

पत्रकार सम्मेलनमै एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहमतिपत्रमा हस्ताक्षर गर्नेछन् । सम्भवत यो ८ वा ९ बुँदे हुनेछ । ‘७ बुँदे मस्यौदामा केही थपिएको छ’ एक नेताले भने ।

एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरुबीच मंगलबार ललितपुरको एक निजी घरमा भएको वार्ताले चुनावी तालमेलसँगै पार्टी एकताको सहमतिले अन्तिम रुप दिएको छ ।

माओवादी नेता नारायणकाजी श्रेष्ठ प्रकाशले दुई दलको सहमति स्वीकार गरे ।

नेताहरुका अनुसार एमाले र माओवादीबीच आगामी प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा तालमेल गर्ने सहमति भएको छ । जसअनुसार प्रत्यक्षतर्फ एमालेले ६० र माओवादीले ४० प्रतिशत उम्मेदवार उठाउनेछन् ।

चुनाव चिन्हबारे सहमति हुन बाँकी छ । एउटै चुनाव चिन्हमा चुनाव लड्ने भनेपनि कानुनी अड्चन देखिएको एक नेताले बताए । अब दुबै दल तालमेल अनुसार आ-आफ्नै चुनाव चिन्हमा चुनाव लड्ने सम्भावना रहेको उनले बताए ।

साथै चुनाव लगतै पार्टी एकता गर्ने सहमति भएको छ । यसका लागि पार्टी एकता संयोजन समितिको घोषणा आजै हुनेछ ।

यो समितिमा एमालेबाट अध्यक्ष ओलीका साथै वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल र उपाध्यक्षन बामदेव गौतम रहनेछन् भने माओवादी केन्द्रबाट प्रचण्डका साथै नेता नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा बादल रहनेछन् ।

दुई दलबीच साझा विधान बनाउन मस्यौदा समिति बनाउने सहमति पनि जुटेको छ ।

एकतापछि पार्टी र सरकारको नेतृत्व आलोपालो गर्ने सहमति भएको एक नेताले बताएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्