चितवन मेडिकल कलेज र आन्दोलनरत विद्यार्थीबीच सहमति



काठमाडौं । चितवन मेडिकल कलेज र आन्दोलनरत विद्यार्थीबीच शनिबार सहमति भएको छ ।

शनिबार जिल्ला प्रशासन कार्यालय चितवनमा भएको वार्तामा सरकार र आइओएमले तोकेकोभन्दा बढी लिइएको शुल्क ३० दिनभित्र फिर्ता गर्ने वा साविककै शुल्कमा समायोजन गर्ने सहमति भएको हो ।

शुल्क फिर्ता गर्न कलेज सहमत भएसँगै विगत लामो समयदेखि ठप्प रहेको पठनपाठन आइतबारबाटै सुचारु गर्ने सहमति भएको प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जानकारी दिए ।

मेडिकल कलेजले सरकारले तोकेको भन्दा १२ लाख बढी शुल्क अवैध रुपमा असुलेको भन्दै विद्यार्थीहरुले चरणवद्ध आन्दोलनमा गरिरहेका थिए । विद्यार्थी आन्दोलित बनेपछि विगत १९ दिनदेखि कलेजको पठनपाठन ठप्प रहेको थियो ।

यसअघि शुक्रबार त्रिभुवन विश्वविद्यालयले विज्ञप्ति जारी गर्दै शुल्क बढी लिएको भए तत्काल फिर्ता गर्न चितवन मेडिकल कलेजलाई आग्रह गरेको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्