रेशम चौधरी रिहा हुनेमा प्रचण्ड विश्वस्त



नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एंव पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफु राजपका सांसद रेशम चौधरी ससम्मान रिहा हुनेमा विश्वस्त रहेको वताएका छन् ।

सुनसरीमा आइतबार जितिया पर्वका अवसरमा आयोजना गरिएको कार्यक्रममा बोल्दै प्रचण्डले यस विषयमा बालुवाटारमा छलफल चलेको र उक्त घटनासँग सम्बन्धित मुद्धाहरु फिर्ता लिने तयारी रहेको पनि खुलाएका छन् ।

‘टीकापुर घटनाको सन्दर्भ आयो। अस्ती भर्खरै हामीले बालुवाटारमा यो विषयमा छलफल गरेर सबै झुठा मुद्दाहरू खारेज गर्ने सैद्धान्तिक निर्णय गरेका छौं ।” प्रचण्डले भने,‘मलाई विश्वास छ केही समयपछि झुठा मुद्दाहरू खारेज हुन्छन्। र थारूहरू जो अहिले पनि बन्दी अवस्थामा रहेका छन्। उनीहरू मुक्त हुन्छन्।’
माओवादी आन्दोलनबाट आएकोले आफूले उनीहरूको पीडा बुझ्ने पनि प्रचण्डले बताएका थिए ।

थरुहट आन्दोलन हिंसात्मक बनेपछि २०७२ भदौ ७ गते नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ८ जना प्रहरी र १ नाबालकको ज्यान गएको थियो।
उक्त मुद्दामा दोषी ठहर भएका सांसद चौधरीलाई जन्मकैदको सजाय तोकेको छ।

चौधरी सहित राजकुमार कठरिया, सुन्दरलाल कठरिया, बृजमोहन डगौरा, राजेश चौधरी वीरबहादुर चौधरी, प्रदिप चौधरी, विद्रोह भन्ने सिताराम चौधरी,गंगाराम डगौरा चौधरी, श्रवण चौधरीलाई जन्मकैद हुने फैसलामा उल्लेख छ।

पुर्पक्षका लागि जेलमै रहँदा चौधरीले २०७४ को निर्वाचनमा कैलाली १ बाट भारीमत ल्याएर चुनाव जितेका थिए।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्