नेमकिपाको अध्यक्षमा पुनः नारायणमान बिजुक्छे



नेपाल मजदुर किसान पार्टी नेमकिपाको अध्यक्षमा पुनः नारायणमान बिजुक्छे रोहित थप कार्यकालका लागि अध्यक्ष बनेका छन् ।

नेपाल मजदुर किसान पार्टीको सोमबार सम्पन्न सातौं महाधिवेशनले पार्टी नेतृत्वमा पुनः बिजुक्छेलाई नै निरन्तरता दिएको हो । फरक राजनीतिक छवि बनाउँदै आएको नेमकिपा सन् १९७५ मा रोहित समूह, सर्वहारा क्रान्तिकारी संगठन, नेपाल र किसान समितिको एकीकरणबाट जन्मिएको थियो । पार्टी एकीकरणदेखि अहिलेसम्म पार्टीमा रोहितले एकछत्र राज गर्दै आएका छन् ।

सातौं महाधिवेशनपूर्व बिजुक्छेले अध्यक्षमा अरू नै अनुहार अघि सार्ने चर्चा चले पनि ४४ वर्षदेखि पार्टी नेतृत्व सम्हाल्दै आएका बिजुक्छे पुनः अर्को कार्यकालका लागि अध्यक्षमा चुनिएका छन् । सोमबार सम्पन्न महाधिवेशनले अध्यक्षसँगै ६ सदस्यीय नयाँ कार्यसमिति पनि चयन गरेको छ । नयाँ कार्यसमितिमा प्रेम सुवाल, सुनील प्रजापति, मोहनप्रसाद प्रजापति, डिल्लीप्रसाद काफ्ले, नवराज कोइराला, जग्यबहादुर शाही रहेको नेमकिपाले जनाएको छ ।

त्यस्तै, सनकमान महर्जन, नन्दबहादुर शाही, बजिरसिं विश्वकर्मा, नर्मा गुरुङ, नारायण महर्जन, सरोजराज गोसाई, उकेश कवां, खगेन्द्रबहादुर शाही, कृष्णकुमार वैद्य, अनुराधा थापामगर सदस्यको सूचीमा परेका छन् ।

नेमकिपाका अनुसार, कमलमैया सुवाल, हरिसुन्दर बासी, राजवीर डंगोल, सुरेन्द्रराज गोसाई, सिर्जना सायजु, सरोजकुमार साह केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । कृष्णबहादुर तामाङ र मुक्ति यादवलाई वैकल्पिक केन्द्रीय सदस्य बनाइएको छ । नयाँ कार्यकालका लागि चयन भएका अध्यक्ष, सदस्यलगायत सबैले सोमबार नै शपथग्रहण गरेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्