अभिव्यक्ति स्वतन्त्रताका लागि कांग्रेस लागिरहनेः सहमहामन्त्री महत



टेकराज भण्डारी

अछाम । नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि कांग्रेस सधैँ अग्रसर रहने बताएका छन् । प्रेस युनियन अछामको ७ औं जिल्ला अधिवेशनको उद्घाटन गर्दै कांग्रेस नेता महतले अभिव्यक्ति स्वतन्त्रता कुनै व्यक्ति भन्दा पनि राष्ट्रकै आवश्यक्ता भएको भन्दै यसका लागि कांग्रेसले आवाज उठाउने बताए ।

सहमहामन्त्री डा. महतले मिडिया काउन्सिल विधेयकले प्रेस स्वतन्त्रतामा अंकुश लगाउन सक्ने देखिएको भन्दै नेपाली कांग्रेसले यसो हुन नदिने बताए ।

Image may contain: 2 people, people sitting and indoor

सरकारले कुरा भन्दा काम गर्नुपर्ने र जनतालाई अनुभव हुने गरी अघि बढ्नुपर्ने उनको भनाई छ । पूर्व परराष्ट्रमन्त्री समेत रहेका नेता महतले दुई तिहाईको सरकारले जनता र देशको समृद्धि हुने गरी काम गर्नुपर्ने सुझाव राखे ।

सरकारका गलत कामको बिरोध गर्न नेपाली कांग्रेसले राष्ट्रिय जागरण अभियान संचालन गरेको बताउँदै उनले दोस्रो चरणको कार्यक्रम आज मंगलबार सकिने र फेरि तेस्रो चरणको कार्यक्रम पुसबाट शुरु हुने जानकारी दिए ।

कांग्रेस अब कुनै गुट उपगुट भन्दा पनि एकताबद्ध भएर अघि बढ्नुपर्नेमा सहमहामन्त्री डा. महतले जोड दिए ।

कार्यक्रममा प्रेस युनियनका केन्द्रीय अध्यक्ष बद्री सिग्देल, पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशका महासचिव योगेश रावल, सदस्य पुष्पराज भट्ट लगायतले पत्रकारिता स्वस्थ, मर्यादित र व्यवसायीक बन्नुपर्नेमा जोड दिए ।

अधिवेशनले आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्