वैदेशिक रोजगार व्यवसायी संघमा लोकतान्त्रिक समूहको विजय



काठमाडौं : नेपाल वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचनमा नेपाली कांग्रेस निकट नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरम समूहले शानदार जित भएको छ । दुई वर्षे कार्यकालका लागि भएको निर्वाचनमा अध्यक्ष पदमा नेपाली कांग्रेस निकट नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरम समूहबाट उम्मेदवारी दिएका बिष्णु प्रसाद गैरे अध्यक्ष पदमा बिजयी भएका छन् ।

मंगलबारराजधानीको बौद्धस्थित होटल हायातमा सम्पन्न साधारणसभापछिको निर्वाचनमा गैरेले आफ्ना प्रतिद्वन्द्वी सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट संयुक्त व्यवसायी समूहका सरोज कुमार पोखरेललाई ४७ मतान्तरले हराउँदै विजयी भएका हुन् ।

निर्वाचनमा कुल ६१९ मत खसेकोमा अध्यक्षमा विजयी गैरेले ३३० मत पाए भने पराजित पोखरेलले २८३ मत पाए । ६ मत भने खाली गएको थियो । संघको पूर्व उपाध्यक्षसमेत रहेका गैरे नेपाली काँग्रेसको सुभेच्छुक संस्थाको हैसियतमा रहेको नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमका पूर्वअध्यक्ष एवं अक्सन इन्टरनेशनल प्रा.लि.का सञ्चालक हुन् ।

यसैगरी प्रथम उपाध्यक्ष पदमा लोकतान्त्रिक समूहका कमल तामाङ विजयी भएका छन् ।तामाङले आफ्ना प्रतिद्वन्द्वी हरिबहादुर पाण्डेलाई १५१ मतान्तरले पराजित गरेका हुन् । बुधबार बिहान सम्पन्न मतगणना अनुसार द्वितीय उपाध्यक्षमा कमलदेव मल्ल, तृतीय उपाध्यक्षमा किशोर कुमार केसी, महासचिवमा सुजितकुमार श्रेष्ठ, सचिवमा मेघनाथ भुर्तेल र कोषाध्यक्षमा ईन्दिरा गुरुङ विजयी भएका छन् ।कार्यसमितिका दश वटै सदस्यपदमा समेत लोकतान्त्रिक फोरमका उम्म्दवारहरु नै विजयी भएका छन् ।

विजयी सदस्यहरुमा कर्णराज कटुवाल, दिनेश कुमार राय (राहुल), सुरेन्द्र अर्याल, हर्कबाहादुर लिम्बु, बिजय लामा, वावुलाल मगर नरेन्द्र, केशवराज न्यौपाने, छविलाल भटराई, जंगबाहादुर ईजम, लक्ष्मण पौडेल रहेका छन् ।जितपछि नवनिर्वाचित अध्यक्ष गैरेले व्यवसायीहरुको हितका साझा एजेण्डाहरुमा सबै पक्षको सुझाव लिएर अगाडि बढ्ने प्रतिवद्धता जनाए ।

उनले भने, ‘यो जित मेरो मात्र होइन सम्पूर्ण व्यवसायीहरुको जित हो । मतका आधारमा मात्रै होइन सबैको मन जितेर काम गर्छु ।’ गैरेले आफ्नो कार्यकालमा कुनै व्यवसायीहरुबीच कुनै भेदभाव नहुने बताए । यस्तै, अध्यक्ष पदका प्रत्यासी सरोजकुमार पोखरेलले नवनिर्वाचित अध्यक्ष गैरेलाई बधाई दिँदै व्यवसायीहरुको मुद्दामा संघको नेतृत्वलाई सहयोग गर्ने बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्