लक्ष्यकेन्द्रित काम गर्न प्रधानमन्त्रीको निर्देशन



प्रधानमन्त्री केपी शर्मा ओली देखिने प्रकारको आर्थिक उन्नति र विकासको प्रगति ल्याउन सबै मन्त्री र सचिवहरुलाई समन्वयात्मक रुपमा सक्रिय हुन निर्देशन दिएका छन् ।

चालू आर्थिक वर्षको नेपाल सरकारको नीति तथा कार्यक्रम र बजेटको पहिलो दुई महीनाको समीक्षाका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा आयोजित बैठकमा प्रधानमन्त्री ओलीले घोषित लक्ष्य र प्रगतिलाई आगामी समीक्षामा नयाँ सोचका साथ बढी स्पष्ट र मूर्त बनाएर प्रस्तुत गर्न पनि निर्देशन दिए ।

प्रधानमन्त्री ओलीले भने, “अगाडि नबढेका आयोजना के कारण अगाडि नबढेको हो भन्ने देखिनुपर्छ । यस दुई महीनामा नभएका काम छन् भने आगामी दुई महीनामा दोब्बररुपमा काम गर्नुपर्छ । त्यसो हुन नसकेकामा वार्षिक लक्ष्य पूरा हुन नसक्ने स्थिति हुन्छ । यसमा साथीहरुको ध्यान जाओस् । काम बढी गर्न र प्रतिवेदन चुस्त, दुरुस्त राख्नुहोस् ।”

उनले महत्वपूर्ण र ठूला काम हुन नसकेमा सानासाना काम सम्पन्न हुनाको अर्थ हुँदैन भन्दै विकासमा योगदान दिन, आर्थिक उन्नति र समाजमा परिवर्तनको सकारात्मक परिणाम र असर पार्न सक्ने गरी महत्वपूर्ण कार्यक्रममा केन्द्रित हुन पनि आग्रह गरे ।

बैठकमा एक मन्त्रालयका फाइल अर्को मन्त्रालयमा रोकिएर पनि प्रगति हुन नसकेको कुरा उठेपछि प्रधानमन्त्री ओलीले त्यसो नगर्न आग्र्रह गर्दै फाइन बढी अल्झिने मानिएका मन्त्रालयलाई ढिलाइ नगर्न र अर्को मन्त्रालयको प्रगतिमा सघाउन आग्रह गरे । उनले सही समयमा सही काम गर्न र मन्त्रिपरिषद्बाट फिर्ता हुने खालका प्रस्ताव नल्याउन पनि ध्यानाकर्षण गरे ।

राजनीतिक प्रभावमा केही ठेकेदारलाई काखी च्यापेर, उनीहरुले जे गरे पनि आँखा चिम्लिएर जाने प्रवृत्ति रोकिनुपर्ने र देशलाई ध्यानमा राखेर स्वच्छता, पारदर्शिता र समुचित ढङ्गले विकासलाई अगाडि बढाएर जनतामा सन्तुष्टि दिन आग्रह गरे । बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बजेट, कार्यक्रम र सम्बन्धित मन्त्रीसँगको कार्यसम्पादन सम्झौता अनुसार प्राप्त प्रगति विवरण प्रस्तुत गरेको थियो ।

रासस

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्