प्रधानमन्त्री हुने कल्पनै गरेको थिइनँः ओली



काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै जीवनकालमा मुलुकमा परिवर्तन हुन्छ र गर्न सकिन्छ भनेर आन्दोलनमा लागेकाले त्यसबेला आफूले प्रधानमन्त्री हुने कल्पनै नगरेको बताएका छन् ।

‘नेपालय’द्वारा प्रकाशित उनका समकालीन प्रा केआर खम्बुको पुस्तक ‘छायाँको लस्कर’ को बुधबार राजधानीमा लोकार्पण गर्दै प्रधानमन्त्री ओलीले आन्दोलनमा लाग्दा बाँचिएला भन्ने समेत नलाग्ने गरेको उल्लेख गरे । उनले गणतन्त्रको प्राप्तिसहित नयाँ संविधान, कम्युनिष्ट पार्टी एकता र अरु परिवर्तनहरु आफ्नै जीवनकालमा देख्न पाइएको जनाउँदै पञ्चायतकालमा सङ्गठिन र सचेत प्रयासका साथ थालनी गरेर शुरु भएको आन्दोलनले आफ्नै जीवनकालमा परिवर्तन दिएको र पार्टी एकताले पूर्णता पाएकोमा सन्तोष व्यक्त गरे ।

“देशको सुखद् भविष्यको परिकल्पना थियो, आफ्नो बारेमा केही पनि परिकल्पना थिएन ।” उनले भने, “त्यसबेला भोकै हिँड्ने र भोकै पनि रहने गरिन्थ्यो । सुरक्षाकर्मीसँग छलेर हिँड्नु पथ्र्याे । पूर्वी पहाडका अधिकांश जिल्लाहरु पैदलै परिक्रमा पनि गरेको छु । एक पटक खुट्टामा खिल परेर छ महिनासम्म खोच्याएर हिँड्नु परेको थियो । विगतका कठिन दिनहरु रमाइला पनि थिए ।”

उनले भूमिगतकालमा आफूले गरेका राजनीतिक गतिविधिको स्मरण गर्दै त्यसबेलाका कतिपय क्रान्तिकारी गीत, कवितासमेतलाई पुस्तकमा समेटेकोमा धन्यवाद दिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्