नागढुंगा– नौबिसे सडकखण्डको जाम हटाउन गृहमन्त्री थापाको निर्देशन



नागढुंगा– नौबिसे सडकखण्डमा भइराखेको सवारी जाम हटाउन गृहमन्त्री रामबहादुर थापाले निर्देशन दिएका छन् ।

सडकमा सवारीको जाम बढेपछि गृहमन्त्री थापाले शुक्रबार तत्काल जनताले महशुस हुने गरी जाम हटाउन सरोकारवाला पक्षलाई निर्देशन दिएका हुन् । सडक जाममा परेका रौतहटका एक विरामीको शुक्रबार विहान मृत्यु भएको थियो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, महानगरीय प्रहरी कार्यालयका प्रमुख डिआईजी शैलेस थापा क्षेत्री र महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख भीम ढकाललाई मन्त्रालयमा बोलाएर गृहमन्त्रीले छिटो जाम हटाउनुपर्ने बताएका हुन् ।

जाम भएका क्षेत्रमा ट्राफिक प्रहरीको जनशक्ति बढाउन, व्यस्त समयमा ठूला सवारी साधनको आवागमनमा रोक लगाउन, बिग्रिएका सवारीसाधन हटाउन आवश्यक क्रेनको व्यवस्था मिलाउन पनि उनले आग्रह गरेका छन् । जाममा परेका बिरामीहरुको आवश्यकताअनुसार उद्धारका सबै उपाय अपनाउन समेत उनले जोड दिए ।

चाडपर्वको मौका छोपी हुनसक्ने कालोबजारी र यात्रुहरुलाई आवश्यक टिकट वितरणमा समेत केही जनगुनासो आएको भन्दै उनले निगरानी र कारबाही बढाउन निर्देशन दिएको गृह मन्त्रालयले जनाएको छ । सडक सुरक्षा र मर्मतका सम्बन्धमा भौतिक पूर्वाधार मन्त्रालयसँग समेत समन्वय भइरहेको उनले जानकारी दिए । बैठकमा सरकारी अधिकारीहरुले बिहीबारको जामको तुलनामा शुक्रबार केही सहज रहेको बताएका थिए । धादिङका सम्बन्धित सरकारी अधिकारीहरुलाई समेत जाम खुलाउन आवश्यक पहल गर्न गृहले निर्देशन दिएको हो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्