कैंची प्रहार गर्ने पक्राउ



धरान । धरान–९ गौतमपथस्थित बिमल श्रेष्ठ सञ्चालक रहेको अपएरो नामक कपडा पसलमा कपडा खरीद गर्न गएका पुजन लिम्बूलाई कैची प्रहार गर्ने एक युवालाई प्रहरीले आज बिहान पक्राउ गरेको छ । लिम्बू धरान–१९ का वडाध्यक्ष पूर्ण लिम्बूका छोरा हुन् ।

लिम्बूमाथि बिहीबार साँझ पसलमै आक्रमण भएको थियो । पसलमा कपडा हेरिरहेका बेला धरान–९ गौतमपथ बस्ने २५ वर्षीय अब्दुल भन्ने कलाम मियाँले कपडा काट्ने कैचीले निज पुजनको दाहिनेतर्फको कोखा र पछाडि ढाडको भागमा तीन ठाउँमा प्रहार गरी गम्भीर घाइते बनाएका थिए ।

घटनालगत्तै फरार रहेका मियाँलाई शुक्रबार धरान–२ भानुचोकमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको इप्रकाका प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेले जानकारी दिए । मियाँविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता प्रक्रियामा रहेको र घटनाको कारणबारे अनुसन्धान थालिएको प्रहरी नायब उपरीक्षक न्यौपानेले जनाए ।

घाइते पुजनको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । उनको कोखाबाट आन्द्रा निस्किएकाले शल्यक्रिया गरिएको थियो । उनको अवस्था सामान्य रहेको चिकित्सकले जनाएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्