दसैँमा खानपिन




नेपालीहरुको विशेष चाडहरुको मौसम आएको छ। बडादसैं सुरु भैसकेको छ भने तिहार र छठ नजिक आइसकेका छन। यी पर्वहरु पर्व मात्र नभएर उत्सवहरु पनि हुन। वर्षमा सबै भन्दा धेरै सामाजिकिकरण एवं पारिवारिकरण हुने भनिकै यिनै चाडहरुमा हो। पारिवारिक एवं सामाजिक जमघटको लागि खानपीन एवं भोज एउटा प्रमुख माध्यमपनि हो। सामाजिक दृष्टिकोणबाट यो आत्मीयता साटासाट गर्ने समय भएतापनि स्वास्थ्यका हिसाबले हाम्रो समाजमा चाडवाड अलि धेरै विरामी हुने मौसम पनि हो।

चाडवाडहरुको मुख्य आकर्षण भनेकै खानपिन हो। अत्यधिक चिल्ला पीरा मासुका परिकार,अनियन्त्रित मदिराले हरेक वर्ष ठुलो मात्रामा मानिसहरु विरामी हुने गरेको तथ्याङ्क हामी पाउँछौ। महिनौ सम्म चल्ने यी चाडहरुमा अत्यधिक मात्रामा खसीको मासु उपभोग गरिन्छ। फ्राइ गरेको मासुका परिकार, तारेको मासुका परिकार, कबाब, पीरो छोइला, कचिला, आदि परिकारहरु हाम्रो समाजका प्रचलित परिकारहरु हुन्।

Advertisement
Advertisement

स्वादका हिसाबले यी परिकारहरु अत्यन्त स्वादिला भएपनि स्वास्थ्यका हिसाबले सावधानी नपुर्याउँदा यिनै परिकारले हामीलाई अस्पातल पुर्याउन सक्छन। चाडवाडमा मासु मात्र खाने तर साग सब्जीहरु नखानाले कब्जियत जस्ता समस्याहरु आउन सक्छन। यो समस्याले पाइल्स तथा हाइपोथाइरोइड भएका विरामीहरुलाई मात्र नभएर स्वस्थ मानिसलाई पनि सताउन सक्छ। त्यसैले चाडवाडहरुको खानपिनलाई स्वस्थकर बनाउनको लागि हामीहरुले मासुको साथ साथै फाइबरयुक्त खाने कुरा जस्तै गाजर, मुला, काँक्रा, फलफूल लगायत अन्य खानेकुरा पनि खान अत्यन्त जरूरी हुन्छ।

यस्ता पर्वहरुमा गफगाफ र खानपीन सँगसङ्गै गर्ने गरिएको हामी पाउन्छौ। चाडवाडका समयमा घाँटीमा हड्डी अड्किएर अस्पताल भर्ना हुनु परेको र कहिलेकाँही ज्यानसम्म गुमाएको उदाहरणहरु प्रसस्त छन् । गफ गर्ने सुरमा खाने कुरा निल्दा कहिलेकसो आकस्मिक रूपमा मासुको डल्लो खाद्य नलीमा नगएर साँस फेर्ने नलीमा जान सक्छ। जसले केहीबेरमै मान्छेको ज्यान जान सक्छ। त्यसैले खाना खाने समयमा धेरै गफगाफ गर्नु हुँदैन। यस्ता गफगाफ चाडवाडहरुमा अलि बढी हुन्छन।

खसीको मासु रातो मासु हो। यसले उच्च रक्तचाप, डिसलिपिडिया(कोलिस्टेरोल, टिजी आदि बढ्नु), मुटुको रोगीहरुको लागि राम्रो गर्दैन। यस्ता रोगीहरु भएको परिवारमा चाडवाडको अव्यवस्थित खानपानले थप समस्या उत्पन्न गर्दछ। हाम्रा परिवारहरुमा यस्ता विरामीहरु हुनुहुन्छ भने वहाँहरुलाई धेरै रातो मासु खान कर नगरौँ। यस्ता रोगीहरुले केही मात्रामा सेतो मासु (जस्तै कुखुरा) र माछा खाएर परिवारसँग रमाइलो गर्न सक्नुहुन्छ।

हिजोआज चाडवाडको समयमा मध्यापान गर्ने चलन बढ्दो छ। मध्यपानले हाम्रो शरीरलाई धेरै हानी पुर्याउँछ। लिभरको विरामी, मुटु रोगी, उच्च रक्तचाप तथा डिस्लिपिडिमियाका विरामीहरुले मध्यपान गर्नु स्वास्थ्यका लागि निकै हानिकारक हुन्छ। चाडवाडका समयमा मध्यपान गरी सवारी साधन चलाएर दुर्घटना हुने समस्या पनि बढ्दो छ। दुर्घटनाले एउटा व्यक्तीलाई मात्र होइन पुरै परिवारलाई असर गर्दछ। यसका साथै चाडवाडमा मध्यपानले गर्दा झैझगडा हुने सम्भावनापनि बढी हुन्छ।

यि विषयहरु सावधानी अपनाउनु पर्ने विषय हुन। यसपालीको चाडदेखी सावधानी सहित मनोरन्जन गर्ने बानीको विकास गरौँ। तपाईंहरु सबैलाई बडादसैं, तिहार, बलिहाङ तङ्नाम, छठ लगायतका सम्पूर्ण चाडहरुकाे हार्दिक मंगलमय शुभकामना।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्