मकै उत्पादन बढाउन रणनीति तयार




सैघाली खबर

दाङ,२४ असोज । मकैबालीको उत्पादन बढाउनका रणनिति बनाउने उदेश्यका साथ दाङमै राष्ट्रिय कार्यशाला सम्पन्न भएको छ । दुई दिन सम्म चलेको कार्यशालाले मकै उत्पादन बढाउन रणनीति तयार पारेको छ ।पछिल्लो समय पोल्टी फार्मको विकास संगै नेपालमा मकैको खपत बढेको छ । नेपालमा उत्पादित मकैले बजार धान्न नसकेपछि मकै भारतबाट मकै आयात गर्नु परेको बिज्ञहरुले वताएका छन् । नेपालमा मकै उत्पादन नबढेकाले बार्षिक सात अर्बको मकै भारतबाटै आयात गर्ने गरिएको विज्ञहरुले जानकारी दिएका छन ।नेपाललाई मकै बाली उत्पादनमा बृद्धि गर्ने उद्देश्यले दुई बर्षे रणनीति बनाउन प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र सिसिट इन्टरनेशनलको आयोजनामा घोराहीमा भएको दुई दिने कार्यशालामा विज्ञहरुले विभिन्न विषयमा कार्यपत्र प्रस्तुत गर्दै यस्तो जानकारी दिएका हुन ।

दाना ब्यवसायी संघका विज्ञ डा. तिलचन्द्र भट्टराइले दाना उद्योगका लागि चाहिने ७० प्रतिशत मकै भारतबाट आयात भइरहेको बताउनुभयो । दाना उद्योगलाई चाहिने मकै ३० प्रतिशत जति नेपालकै प्रयोग गरिए पनि सात अर्बको जतिको मकै भारतबाट आउने गरेको बताउनुभयो । भारतमा ल्याउँदा मकै महंगो पर्ने र त्यसले पोल्ट्रीजन्य उत्पादन पनिमा महंगो गराउँदै लगेको उहाँले बताउनुभयो । अबको पाँच बर्षभित्र नेपाललाई मकैमा आत्मनिर्भर गराउने गरी रणनीति बनाउनुपर्ने उहाँले बताउनुभयो ।

केही बर्षअघिसम्म दाङ र बर्दियाबाट पनि मकै बाहिर जिल्ला जान्थ्यो तर अहिले बारा, रौतहट र सुनसरीमो मकैमा निर्भर रहनुपरेको छ, अन्यत्र उत्पादन हुँदैन । दाङ पोल्ट्रीको पकेट क्षेत्रमा स्थापित भइरहेकाले यहाँ मकै बालीको उत्पादनमा पनि राम्रो संभावना रहेको बताउनुभयो । प्रति हेक्टर १२ हजार मेट्रिक टनसम्म उत्पादन हुने भएकाले मकै खेती धानभन्दा धेरै लाभदायी रहेको उहाँले बताउनुभयो ।

बाली विकास निर्देशनालयका विज्ञ राजन ढकालले नेपालको मध्यपहाडी क्षेत्रमा साढे ६ लाख हेक्टरमा मकै खेती भए पनि बजारसम्म नपुग्ने ठूलो समस्याको रुपमा रहेको बताउनुभयो । पहाडी क्षेत्रमा खाद्यान्नमा प्रयोग हुने र स्थानीय गाइवस्तुलाई खुवाएर सिध्याउने गरिएको उल्लेख गर्दै उहाँले पहाडको मकै दाना उद्योगसम्म पु¥याउन सकिए भारतबाट हुने हुने आयात घटाउन सकिने बताउनुभयो । बिगत दश बर्षमा मकै बालीको क्षेत्र विस्तार साढे नौ प्रतिशत भूभागमा मात्रै भएको र उत्पादन बृद्धि पनि ३३ प्रतिशत मात्रै भएकाले बार्षिक सात अर्बको आयात गर्नुपर्ने अवस्था आएको बताउनुभयो ।

मकै सुपरजोन दाङका प्रमुख महेश रेग्मीले अहिले दाङमा सुपरजोन र अन्य ६ स्थानमा जोनसहित सात जिल्लामा मकै खेति गर्नेका भइरहेको बताउनुभयो । पुरानै बीउविजन प्रयोग गर्ने समस्या रहेको औल्याउँदै उहाँले नेपालभित्रै हाइब्री बीउ उत्पादनमा जोड दिनुपर्ने बताउनुभयो । हिउँदे मकै बढी गुणस्तरीय हुने जानकारी दिंदै उहाँले सिंचाइ हुने क्षेत्रमा हिउँदे मकैमा जोड दिनुपर्ने सुझाव दिनुभयो ।
मकै सुपुरजोन सञ्चालन समितिका अध्यक्षसमेत रहेका किसान प्रतिनिधि हुकुमबहादुर बस्नेतले दाना उद्योगले सेतो मकै खरिद नगर्दा समस्या आएको बताउनुभयो । किसानले उत्पादन बिक्री गर्न नसके सरकारले खरिद गरिदिनुपर्ने सुझाव दिंदै उहाँले बीउ, सिंचाई, सडक र बजारको जिम्मा सरकारले लिनुपर्ने बताउनुभयो ।

राष्ट्रिय मकै बाली कार्यक्रमका विज्ञ डा. केशबबाबु कोइरालाले अहिले २६ जातिका मकै लगाउने गरिएको उल्लेख गर्दै पोसिलो मकै उत्पादनमा जोड दिनुपर्ने बताउनुभयो । सिमिट इन्टरनेशनलका विज्ञ डा. मीना देवकोटाले प्रविधि प्रयोगमा जोड दिंदै परम्परागत तरीकाबाट गरिएको खेतीमा २५ हजार आम्दानी गर्ने किसानले उन्नत तरीकाबाट खेती गर्दा ५३ हजारसम्म कमाएको अनुसन्धान पेश गर्नुभयो । प्रविधि प्रयोग गरेर बीउ र मल प्रयोगमा सन्तुलन कायम गर्न गर्न उल्लेख्य उत्पादन बढाउन सकिने बताउनुभयो ।

प्रधानमन्त्री कृषि आधुनीकीकरण परियोजनाका प्रमुख डा. नरहरिप्रसाद घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा दाना ब्यवसायी संघका विज्ञ डा. तिलचन्द्र भट्टराइ, बाली विकास निर्देशनालयका विज्ञ राजन ढकाल, वीउबिजन गुणस्तर नियन्त्रण केन्द्रका विज्ञ मदन थापा, नेपाल बीउ ब्यवसायी संघका विज्ञ दामोदर पौडेल, राष्ट्रिय मकै बाली कार्यक्रमका विज्ञ डा.केशबबाबु कोइराला, सिमिट इन्टरनेशनलका विज्ञ डा. मीना देवकोटा, मकै सुपरजोन दाङका प्रमुख महेश रेग्मी, कृषि इञ्जिनियरिङ निर्देशनालयका बिज्ञ मधुसुदन सिंह बस्न्यात लगायतले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्