डोजर मार्फत आक्रमण गर्ने चालक पक्राउ



बैतडीमा गाउँलेहरु बीच विवाद हुँदा डोजरले महिलालाई हुत्याउने डोजर चालक पक्राउ परेका छन् । जिल्लाको दशरथचन्द नगरपालिका वडा नं ९ ग्वाल्लेकमा कच्ची सडक निर्माणका बिषयमा गाउँलेहरु बीच विवाद हुँदा डोजरले एक स्थानीय महिलालाई हुत्याउने डोजर चालक पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा डोजर चालक दशरथचन्द नगरपालिका २ देहीमाण्डौंका किशोर बोहरा रहेका छन्। चालकले महिलालाई डोजरले हुत्याएको भिडियो सार्वजनिक भएपछि बोहरालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । सुण्नाखान देखि पार्स सम्मको सडक निर्माणका बिषयमा दुई पक्षबीच कुराकानी नमिल्दा सोमबार झडप भएको थियो ।

झडपका क्रममा डोजर चालकले स्थानीय गौरी जोशीलाई हुत्याएको भिडियो सार्वजनिक भएको थियो । जोशीको अहिले धनगढीमा उपचार भईरहेको परिवारिक स्रोतले जनाएको छ । सडक रोक्ने र सडक लैजाने पक्षबीच विवाद हुँदा ८ जना घाइते भएका थिए । रोक्ने पक्षका गौरी जोशी र सुरेन्द्र प्रसाद जोशीको धनगढीमा उपचार भईरहेको छ ।

सडक निर्माण गर्नुपर्छ भन्ने पक्षका नारायण जोशी, सन्तोष जोशी, पुष्कर जोशी, दिनेश जोशी, भोजराज जोशी र धर्मानन्द जोशी घाइते भएकोमा उनीहरुको जिल्ला अस्पातलमा समान्य उपचारपछि घर फर्किएका छन् । सडक निर्माणका लागि आफूहरुले सहमति गर्न खोजेपनि निर्माण पक्षले जबरजस्ती आफूहरुको जमीनमा डोजर चलाएको स्थानीयहरुले बताएका छन् ।

तर उता निर्माण समितिका अध्यक्ष केशवदत्त जोशीले भने डोजरमा एक्कासी ढुंगामुढा गरेको आरोप लगाएका छन् । पक्राउ परेका डोजर चालक बोहरा माथि अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्