त्रिशूली ३ बी देखि रातमाटेसम्मको प्रसारण आगामी आवमा



त्रिशूली ३ बीदेखि नुवाकोटको रातमाटेसम्म २२० केभी प्रसारण लाइनको निर्माण आगामी आर्थिक वर्ष बाट शुरु गर्ने भएको छ । यसको सम्भाव्यता अध्ययन सकिएर वातावरणीय प्रभाव मूल्यांङ्कनको काम तीव्र गतिमा भइरहेको त्रिशूली ३ बी–रातमाटे २२० केभी प्रसारण लाइन आयोजनाका प्रमुख रुपेशकुमार शाहले बताए ।

‘गत असोजमा नेपाल विद्युत प्रधिकरण इन्जिनियरिङ कम्पनी लिमिटेडले आयोजनाको सम्भाव्यता अध्ययन सम्पन्न गरेको थियो । अहिले वातावरण विभागले वातावरणीय प्रभाव मूल्यांकनको काम गरिरहेको छ । सम्भवतः आठ महिनाभित्रै सक्ने योजना प्रमुख शाहले बताए । चालु आर्थिक वर्षमा आवश्यक कागजात तयार पारेर आगामी आर्थिक वर्षदेखि निर्माण थाल्ने छ ।

‘यो चालु आर्थिक वर्षसम्म सम्पूर्ण तयारी सकेर अर्को वर्षदेखि निर्माण थाल्ने तयारीमा जुटेका छौं प्रमुख शाहले बताए ।’ उनले भने, ‘यो प्रसारण लाइन बनेपछि त्रिशूली आसपास उत्पादित बिजुली राष्ट्रिय ग्रिडमा जोड्न सजिलो हुनेछ ।’ आयोजना प्रमुख शाहले त्रिशूली ३ बी सबस्टेसन हबबाट रातमाटेसम्म २२० केभीको २३.५ डबल सर्किट किलोमिटर प्रसारण लाइन निर्माण गरेर प्रस्तावित मिलेनियम च्यालेन्ज कर्पोरेसनले निर्माण गर्न लागेको एमसिसी कम्प्याक्ट अन्तर्गतको ४०० केभीको प्रसारण लाइनमा बिजुली लगेर राष्ट्रिय ग्रिडमा जोडिनेछ । आयोजनाले उक्त काम गर्न एक अर्ब ३६ करोड रुपैयाँ खर्च लाग्ने अनुमान गरेको छ । आयोजना प्रमुख शाहले सबस्टेसनदेखि रातमाटेसम्म ४८ वटा एंगल प्वाइन्ट र ६४ वटाभन्दा धेरै टावर खडा गर्नुपर्ने बताए ।

त्रिशूली ३ बी २२० केभी हब प्रसारण लाइनको निर्माण कार्य पनि तीव्र गतिमा भइरहेको छ । आयोजनाका अनुसार हालसम्म करिब ७० प्रतिशत निर्माण सम्पन्न भइसकेको छ । त्रिशूली ३ बी २२० केभीबाट पाँच सय मेगावाट बिजुली प्रसारण लाइनमार्फत काठमाडौंको मातातिर्थ सबस्टेसन ल्याएर राष्ट्रिय ग्रिडमा जडान गरिएको छ ।

उक्त कार्यको ठेक्का चीनको एम÷एस पिङ्गाओ ग्रुप कम्पनी लिमिटेडले १२.५ मिलियन अमेरिकी डलरमा पाएको थियो । आयोजनाले निर्माण कार्य सन २०१९ को डिसेम्बरभित्र सम्पन्न गर्ने लक्ष्य राखेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्