व्यवस्थापिका संसद्को कार्यकाल समाप्त



 

काठमाडौँ,  २८ असोज ।  रूपान्तरित व्यवस्थापिका संसद्को कार्यकाल समाप्त भएको छ ।  प्रतिनिधिसभा निर्वाचनको समानुपातिक तर्फको मनोनयन आइतबार हुने भएसँगै संवैधानिक व्यवस्था अनुसार शुक्रबारदेखि कार्यकाल सकिएको हो ।  संसद् सचिवालयले औपचारिक रूपमा शनिबार विशेष समारोहबीच कार्यकाल समापन गर्दैछ ।  
शुक्रबारको अन्तिम बैठकमा सभामुख ओनसरी घर्तीले चालु अधिवेशनमा अनुपस्थित हुने सांसदको नामावली जानकारी गराई अनुमोदन गराउनुभएको थियो ।  संसद् अविधेशन अन्त्यकै शैलीमा कार्यकालको अन्तिम बैठक अन्त्य गरिएको हो । 
तर, औपचारिक रूपमा सचिवालयका तर्फबाट शनिबार विशेष समारोह आयोजना गर्ने कार्यक्रम शुक्रबार बिहान मात्र तय भएको हो ।  सभामुखका प्रेस विज्ञ बबिन शर्माका अनुसार शनिबार २ बजेदेखि 
साँझ ७ बजेसम्मको औपचारिक कार्यक्रम तय भएको छ ।  
शनिबार दिउँसो २ बजे सभामुख र राजनीतिक दलका नेताको उपस्थितिमा तस्बिर सत्रको कार्यक्रम  हुनेछ ।  अपराह्न ३ बजे राजनीतिक दलका शीर्ष नेताहरूले औपचारिक रूपमा सम्बोधन गर्ने कार्यक्रम छ ।  सभामुख घर्तीले समेत उक्त अवसरमा संसद्ले गरेका काम कारबाहीबारे जानकारी दिनुहुनेछ ।  औपचारिक मन्तव्यपछि सभामुखले आयोजना गर्नुहुने जलपान कार्यक्रम सुरु हुनेछ । 
दोस्रो संविधानसभाको पहिला बैठक २०७० माघ ७ मा सुरु भएको थियो ।  उक्त समयसीमाअनुसार संविधानसभाको कार्यकाल चार वर्ष तोकिएको थियो ।  तर, संविधान सभाले करिब १८ महिनामा संविधान जारी गरेपछि संविधानसभा विघटन भई रूपान्तरित व्यवस्थापिका संसद् कायम भएको थियो ।  
विसं २०७२ असोज ३ गतेदेखि रूपान्तरित व्यवस्थापिका संसद् कायम भएको थियो ।  रूपान्तरित व्यवस्थापिका संसद् संविधान कार्यान्वयनका लागि आवश्यक कानुन निर्माणमा केन्द्रित भएको थियो ।  तर, राजनीतिक दलहरूबीचको विवादका कारण राष्ट्रिय सभा सदस्य निर्वाचन विधेयक भने पारित भएन ।  
राष्ट्रिय सभा सदस्य निर्वाचन विधेयक भने अध्यादेशमार्फत जारी गर्ने सरकारको तयारी छ ।  यस्तै, चिकित्सा शिक्षा विधेयक पनि सदनबाट पारित भएन ।  रूपान्तरित संसद्मा संसदीय पद्धतिका दुर्लभ अभ्यास दुई महाभियोगको अभ्यास भएको थियो ।  तर, दुवै प्रस्ताव भने संसदमा निर्णयार्थ प्रस्तुत भएनन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्