सभामुख घर्तीले गहभरि आँसु बनाउँदै भन्नुभयो गणतन्त्रका लागि हजारौं आमाले काख रित्याउनु भयो



 

सैघाली खबर
दाङ, ३० असोज । कार्यक्रममा सहभागीको निकै लामो प्रतिक्षापछि सभामुख ओनसरी घर्ती कार्यक्रममा पुग्नुभयो । राजधानीबाट एकै दिनमा आएलगत्तै कार्यक्रममा सहभागी बनेका उहाँले मन्तव्यका क्रममा गहभरि आँसु बनाउँदै पटकपटक रोकिनुभयो र आँसु पुछ्दै भन्नुभयो– म आज जुन स्थानमा छु, त्यो गाउँकै आमाहरुका कारण संभव भएको हो ।

नेकपा माओवादी केन्द्रका सचिवलाय सदस्य एवं पाँच नम्बर प्रदेश संयोजक पूर्ण घर्तीकी आमा जयकली घर्तीको स्मृतिमा घोराही १६ स्थित उहाँकै निवासमा आयोजित श्रद्धाञ्जलीसभामा पुग्नुभएका सभामुखले एकातिर नेताकी आमाको मृत्युको शोकमा भावविव्हल हुनुभयो भने अर्कोतिर गाउँका आमाहरुको सम्झना गर्दै उहाँले पटकपटक आँसु थाम्दै मन्तव्य अघि बढाउनुयभो ।

‘धेरैलाई लाग्दो हो राजनीतिक परिवर्तन शहरमा बस्ने शिक्षिक व्यक्तिका कारणले हुन्छ, त्यसो होइन राजनीतिक परिवर्तनमा गाउँवासी नै निर्णायक हुन्छन्’– उहाँले भन्नुभयो– ‘खासगरी पछिल्लो परिवर्तन अझ गणतन्त्र गाउँका अशिक्षित आमाहरुले जन्माएको ब्यवस्था हो ।’ पूर्ण घर्तीका आमा जयकलीले आफू बिधवा हुँदाहुँदै पनि जीवनको एक मात्र सहारा छोरा र बुहारीसमेत जनयुद्धमा पठाएर राजनीतिक परिवर्तनमा अगुवाइ गरेको चर्चा गर्दै सभामुखले भन्नुभयो– ‘यो एउटा प्रतिनिधिमूलक घटना हो, नेपालमा राजनीतिक परिवर्तनका लागि भएको आन्दोलनमा गाउँका हजारौं आमाले काख रित्याएर छोराछोरी पठाए, उनीहरुकै योगदानले गणतन्त्र स्थापना भएको हो ।

शहर बजारका शिक्षितरुले सामूहिक कामका लागि एक दिन समय पनि दिन अफ्ठ्यारो मान्ने गरेको उल्लेख गर्दै उहाँले गाउँका तिनै आमाहरुले भने आफ्ना सन्ततिलाई नै राजनीतिक युद्धमा होमेकाले मुलुकमा यति चाँडै गणतन्त्र आउन संभव भएको बताउनुभयो । ‘त्यसैले मैले पटक–पटक भन्ने गरेको छु, राजनीतिक परिवर्तनका आन्दोलनहरुमा धेरैको भूमिका छ तर गणतन्त्र मूलतः रोल्पारुकुमका आमाहरुले जन्माएको ब्यवस्था हो’– उहाँले भन्नुभयो– ‘बरु अबको चिन्ता यसलाई कसरी संस्थागत गर्ने र गाउँका आमाहरुले चाहेजस्तै गाउँ शहर, धनी गरीब, जातजाति समान भएको ब्यवस्थामा यसलाई कसरी बदल्ने भन्ने हो, हामी बाँचेकोहरुले यसका लागि दृढ प्रतिबद्धता जाहेर गर्नसक्नुपर्छ ।’

पूर्वआपूर्तिमन्त्री एवं माओवादी केन्द्रका सचिवालय सदस्य गणेशमान पुन र पोलिटब्यूरो सदस्य कुवेर ओलीले नेता घर्तीले आमाको काजकिरिया नगरी मृत्यु संस्कारमा परिवर्तन ल्याएको भन्दै यसरी हरेक परिवर्तनको थालनी नेतृत्वबाट शुरु गर्दा जनस्तरमा राम्रो प्रभाव पार्ने बताउनुभयो ।

मृतक जयकलीकी बहिनी बिर्जना घर्तीको अध्यक्षतामा भएको कार्यक्रममा छोरा पूर्ण घर्तीले आमाकै चाहनाअनुसार आफूले काजकिरिया नगरेको बताउनुभयो । कार्यक्रममा मृतक घर्तीका भाइ मणिकर्ण पुनले पनि दिदीको बारेमा चर्चा गर्नुभएको थियो । कार्यक्रम सञ्चालन पत्रकार अजयदीप शर्माले गर्नुभएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्