१५ वर्षीया बालिकालाई १० हजार रुपैयाँमा भारतमा बेचियो



मानव तस्करले एक नेपाली १५ वर्षीया बालिकालाई १० हजार भारतीय रुपैयाँमा बेचेको पाइएको छ । भारतको नयाँ दिल्लीस्थित कोठीबाट उम्किन सफल ती बालिकाले आफूलाई १० हजारमा बेचिएको प्रहरीसँग बयान दिएकी हुन् ।

प्रहरीका अनुसार बालिकालाई कोठी सञ्चालकहरूले करिब एक महिना कोठामा बन्धक बनाई युवती बनाउनको लागि प्रयोग गरिने सुई र औषधी प्रयोग गरेको पाइएको छ । प्रहरीको मानव बेचविखन अनुसन्धान व्युरोका एसपी अनुपम शमशेर जबराका अनुसार नेपालकै महिला मानव तस्करले ती बालिकालाई नयाँ दिल्लीस्थित कोठी नम्बर ५११ मा दुई वर्ष, कोठी नम्बर ६४ मा दुई वर्ष र कोठी नम्बर ४० मा १५ दिन राखी यौनधन्दामा लगाएको खुलेको छ ।

कोठीमै आउने नेपाली ग्राहकको सहयोगमा ती बालिका उम्किन सफल भएकी हुन् । नेपाल फर्किने क्रममा माइती नेपाल शाखा कार्यालय नेपालगञ्जले नेपाल–भारत नाकाबाट उद्धार गरी माईती नेपाल केन्द्रीय कार्यालय काठमाडांैमा ल्याएर प्रहरीलाई जानकारी गराएका थिए । ती बालिकालाई ०६८ साल माघमा सुनिता तामाङले काठमाडौंको एक होटलमा काम गर्दै गरेको पत्ता लगाई प्रलोभनमा पारेर गाउँमै लगेर पढाइदिने वाचा गरी होटलबाट काम छुटाएकी थिइन् ।

प्रहरीका अनुसार बालिकालाई घर जाऊँ भनेर बसमा चढाई बान्ता नआउने औषधी भन्दै लट्याउने औषधी पटक–पटक खुवाएर भारततर्फ लगेको खुलेको छ । पीडित बालिका होसमा आउँदा भारतको मधुन भन्ने ठाउँमा पुगेको प्रहरीले बताएको छ ।

सुनिताले कोठीको सञ्चालक लक्ष्मी र हेमालाई बुझाएको र १० हजार भारतीय रुपैयाँ लिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । बालिकालाई कोठी सञ्चालकहरूले करिब एक महिनासम्म कोठामा बन्धक बनाई युवती बनाउनको लागि प्रयोग गरिने सुई र औषधी प्रयोग गरिएको खुल्न आएको छ । पीडितले यहि कात्तिक २० गते प्रहरीमा उजुरी दिएकी थिइन् ।

प्रहरीले ती बालिकालाई बेच्ने कार्यमा संलग्न नुवाकोट, सूर्यगढी गाउँपालिका घर भई हाल ललितपुर, चापागाउँ बस्ने वर्ष ५० की कान्छी तामाङ ९सुनिता तामाङ० भन्ने कृष्णमाया लामालाई पक्राउ गरेको छ । यस्तै सोही घटनामा संलग्न फरार नुवाकोट, सूर्यगढी गाउँपालिका–६ घर भई ललितपुर, चापागाउँ बस्ने ४२ वर्षीय शेर बहादुर लामाको खोजी कार्य जारी राखेको व्युरोले बताएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्